विशेष स्थानीय खबर

बिर्तामोडमा तीन दिनदेखि बाह्र सय लेण्डलाइन अवरुद्ध

बनियानी, झापा, १६ असारः झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुवैतर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केबल चुडिएपछि बिहीबारदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका बरिष्ठ इन्जिनियर सुधिरकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँ अनुसार तीन ठाउँमा प्राइमरी केबल चुडिँदा १२ सय थान लेण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको छ । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उहाँले भन्नुभयो, ‘मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयत्न गरिरहेका छौँ ।’

टेफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताउनुभयो ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुडिएको बताउनुभयो । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उहाँले भन्नुभयो, ‘टेलिकमसँग सहकार्य गरेर चुडिएको तार मर्मत गरिनेछ ।’

यसअघि पनि बिर्तामोड–५ को बजार क्षेत्रको फुटपात खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि मर्मत लामो समयसम्म मर्मत भएन ।

हाल यहाँको सडकको दुवै किनारबाटै ढल बगिरहेको छ भने फुटपात हिलाम्मे भएको छ । भत्काइएको फुटपात र ढल निर्माण भएको छैन ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक