विशेष समाज स्थानीय खबर

३० लाख नलिने बिर्तामोडका मेयर शिवाकोटीको घोषणा

बिर्तामोड, ११ असार । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले मन्त्रीपरिषदले आफ्नो नाममा निकासा गरेको ३० लाख रुपैयाँ आर्थिक सहायता नलिने घोषणा गरेका छन् ।

घरमा क्षति पुग्दा मेयर सिवाकोटीले सरकारबाट ३० लाख रुपैयाँ आर्थिक सहायता लिन लागेको सार्वजनिक भएको थियो । १० कात्तिक २०७४ मा बिर्तामोडमा आन्दोलन हुँदा मेयरको घर र गाडीमा क्षति पुगेको थियो । गाडी र घरको क्षतिको रकम बिमाले बेहोरेपछि समेत मेयरका नाममा सरकारले ३० लाख रुपैयाँ निकासा गरेको हो । मेयर शिवाकोटीले मंगलबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर सरकारबाट आर्थिक सहायता नलिने बताएका हुन् ।

‘मन्त्रीपरिषद्बाट वैशाखमै निर्णय भएको रहेछ, त्यसयता म २÷३ पटक काठमाडौँ गइसकेँ तर कसैले पनि मलाई निर्णय भएको बारे सुनाएनन्,’ पत्रकार सम्मेलनमा मेयर सिवाकोटीले भने, ‘पछि मन्त्री गोकर्ण विष्टले सुनाएपछि मैले थाहा पाएको हुँ ।’
‘निर्णय भएकै तीन महिना भयो तर म पैसा लिन गएको छैन र जान्न पनि,’ उनले भने, ‘मलाई नसोधी सिधै मेरो खातामा पैसा आउँदैन, खाता नम्बर सोध्दै कसैले फोन गरेमा म चाहिँदैन भन्छु ।’

Facebook Comments

फेसबुक

Holler Box