विशेष समाज स्थानीय खबर

प्रदेश नं. १ मा वर्षाले ९ जनाको मृत्यु, ४ जना बेपत्ता

बनियानी, २८ असार । गत २६ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश नं. १ मा ९ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् ।

भोजपुरमा २ जना, खोटाङमा ३, झापा, ओखलढुंगा, इलाम र सुनसरीमा १÷१ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथर, झापा, मोरङ र सुनसरीमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा.भोजपुर रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । उनको अविरल वर्षाका कारण घरले किचेर मृत्यु भएको थियो । २७ गते भोजपुरकै ट्याम्केमयुम गाउँपालिक–९ का १४ वर्षीय जनक बिकको ट्वाइलेटले किचेर मृत्यु भएको छ ।

ओखलढुङ्गा चिसुङ्खुगडी गापा–४ की ८५ वर्षीया पासाङ पुटी शेर्पालाई खोलाले बगाएर मृत्यु भएको छ । इलाम चुलाचुली–१ का ५० वर्षीय अञ्चल लावतीलाई खोलाले बगाएर मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, खोटाङको खोटेहयाङ गाउँपालिका–२ की २८ वर्षीया रेखा राई उनको छोरा ४ वर्षीय रोमन राई र ७ महिनाको रोहन राईको घरले किचेर मृत्यु भएको छ । झापा दमक–१० की लोकेन्द्र भण्डारीको भान्जी ६ वर्षीया ऐलिजा न्यौपाने स्थानीय भालुखोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको उदयपुर घर भई इटहरी–५ मा बस्दै आएका ३५ वर्षीय सागर थापाको खोलाले बगाएर मृत्यु भएको कार्यालयले जनाएको छ ।

खोलाले बगाएर पाँचथर मिक्लाजुङ–४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ का ४५ को सफल हास्दा, सुनसरी बराहाक्षेत्र–१ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी–२ का करिब ३० वर्षीय नाम, थर नखुलेको एक जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

Facebook Comments

फेसबुक

Holler Box