विशेष समाज स्थानीय खबर

भद्रपुरमा अत्याधुनिक काली मन्दिर निर्माणको तयारी

भद्रपुर, १२ असोज । झापाको सदरमुकामको केन्द्रका रूपमा रहेको चन्द्रगढी बजारमा अवस्थित ऐतिहासिक काली मन्दिर पुनःनिर्माण हुने भएको छ ।

स्थानीय दाताबाट रकम संकलन गरी एक करोड २८ लाख लगानीमा अत्याधुनिक प्रविधियुक्त मन्दिर निर्माण हुने भएको हो । निर्माण समितिका संयोजक भीम पौडेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा मन्दिर परिसरमा घटस्थापनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन तथा अग्रज व्यक्तित्व भेला कार्यक्रममा दिइएको जानकारी अनुसार २०२७ सालमा निर्मित मन्दिरको भौतिक संरचना कमजोर बन्दै गएपछि पुनःनिर्माणका लागि स्थानीय दाता तथा समाजसेवीहरूसित समन्वय गरेर मन्दिर निर्माणको काम थालिएको हो ।

दशैं तिहार सकिए लगत्तै निर्माण थालनी गरिने आर्थिक संयोजक मोहन कुमाइले जानकारी दिए । कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले मन्दिर निर्माण सम्पन्न गर्न नगर सरकार प्रतिवद्ध रहेको जानकारी दिँदै विशेष सहयोग गर्ने वचन दिएका थिए भने भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले बुबा वीरहाङ लिम्बूको स्मृतिमा मन्दिर निर्माणार्थ नगद २५ हजार सहयोग हस्तान्तरण गरेका थिए ।

यसैबीच, बडा दशैंको अवसर पारेर भद्रपुर–१० स्थित दुर्गा पञ्चायन मन्दिरको सरसफाइ गरिएको छ । वैदिक बचत तथा ऋण सहकारी, सत्य लक्ष्मी कृषि सहकारी, वैदिक समाज झापा र चन्द्रगढी सेवा समाजको सम्युक्त पहलमा घटस्थापनाको पूर्वसन्ध्यामा मन्दिर परिसर सरसफाइ गरिएको हो ।

कार्यक्रममा वैदिक बचतका अध्यक्ष अरूण बस्नेत, सत्य लक्ष्मीका अध्यक्ष नयाँनाथ पाण्डे, चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी र वैदिक समाज झापाका सचिव द्रोण अधिकारीको नेतृत्वमा मन्दिर परिसर सरसफाई गरिएको थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश निरौला, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, त्रिवेणी टोल विकासका अध्यक्ष लगायत स्थानीय अग्रज सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सोही अवसरमा मन्दिर व्यवस्थापन समितिले विकृति रहित दशैं पर्व बनाउन सर्व पक्षीय भेला समेत सम्पन्न गरेको छ । भेलाले सामुहिक जमरा राख्ने, फूलपाती भित्र्याउने लगायत सर्व पक्षीय निर्णय समेत गरेको थियो ।

Facebook Comments

फेसबुक

Holler Box