समाज स्थानीय खबर स्वास्थ्य

सहाराको स्वास्थ्य शिविरमा १५० ले लिए सेवा

अर्जुनधारा, ६ पुस । अर्जुनधारा नगरपालिका र सहारा नेपाल साकोसको संयुक्त आयोजनामा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा नशा रोगसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नशा चेपिएको, टाउकोमा पानी जमेको, छारे रोग, जिउ काम्ने, प्यारालाइसिस लगायतका समस्या भएका १५० जना बिरामीले ओपीडी सेवा लिएको सहारा नेपाल साकोस शनिश्चरेका प्रबन्धक लक्ष्मीप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार शिविरमा न्यूरोसम्बन्धी ७५ जना बिरामी आएका थिए भने ३३ जनाको एमआरआई गर्नुपर्ने देखिएको छ । जसमा ४ जनाको अप्रेसन नै गर्नुपर्ने चिकित्सकले बताएको उनको भनाइ छ । ४१ जनालाई रेफर
गरिएको छ भने पुस १८ र १९ गते बिएण्डसीमा डा. वसन्त पन्तले रोग परीक्षण गरी अप्रेसन गरिने बताइएको छ ।

बिएण्डसी मेडिकल कलेज बिर्तामोड, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं तथा फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थय शिविरको अर्जुनधारा वडा ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईको अध्यक्षतामा भएको थियो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकु्मार रानाले सहारा नेपाल आर्थिक कारोबारमा मात्र अब्बल नरहेर आफ्ना सेवाग्राहीका लागि साँच्चै नै जीवनको सहारा बनेको भन्दै प्रशंसा गरेका थिए । साकोसका शनिश्चरे संयोजक शंकर सुवेदीले स्वागत गरेको शिविरमा अर्जुनधारा ४ का वडाध्यक्ष ध्यानबहादुर भारती, बिएण्डसीका न्यूरो सर्जन डा. दिनेशकुमार थापालगायतको विशेष आतिथ्यता रहेको थियो ।

Facebook Comments

फेसबुक

Holler Box