स्थानीय खबर स्वास्थ्य

औषधि व्यवसायी संघ झापाको कार्यसमितिले सम्हाल्यो पदभार

बिर्तामोड, १५ पुस । नेपाल औषधि व्यवसायी संघ झापाको हालै निर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार सम्हालेको छ ।

विर्तामोडको इन्द्रेणी व्याङ्क्वेटमा सोमबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । संघीय संरचना अनुसार पहिलो पटक झापामा जिल्ला शाखा गठन भएको हो । यस अघिसम्म, मेची अञ्चल शाखाले नै झापाका व्यवसायीहरुलाई समेट्तै आएको थियो ।

मेची अञ्चल शाखाकै आयोजनामा नवनिर्वाचित अध्यक्ष गौतम गुप्ता, उपाध्यक्ष प्रदीप खरेल, महासचिव जीवनकुमार खड्का, सचिव ससिम पोखरेल, कोषाध्यक्ष बुद्धिशेखर बजगाईं, उपकोषाध्यक्ष युवराज भट्टराई र सदस्यहरु सुरेश खतिवडा, लक्ष्मीप्रसाद पौडेल र प्रह्लादराज ढुंगानालाई पदभार ग्रहण गराउँदै सपथ पनि गराइएको हो ।

मेची अञ्चल शाखा अध्यक्ष नरेन्द्र वस्नेतको अध्यक्षतामा महासचिव वासु दुलालले सञ्चालन गरेको समारोहका बीच निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले नवनिर्वाचित अध्यक्ष गुप्तालाई सपथ गराएका थिए भने अध्यक्ष गुप्ताले अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए ।

समारोहका प्रमुख अतिथि औषधि व्यवस्था विभाग, विराटनगरका निमित्त प्रमुख दिपेन्द्रकुमार खड्काले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिँदै औषधि व्यवसायमा देखिएका समस्या समाधानका लागि विभागले कार्यसमितिसँग मिलेर काम गर्ने बताए । उनले कानूनसम्मत र सही ढंगबाट व्यवसाय सञ्चालन गर्नेहरुले विभागको अनुगमनबाट डराइरहनुनपर्ने भन्दै कानुनको दायराभन्दा बाहिर जानेलाई नछोडिने पनि स्पष्ट पारे ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले प्रतिवद्धता मन्तव्य राखेको समारोहमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य शर्मिला शाक्य, मेची अञ्चल शाखाका पूर्व अध्यक्ष गोपाल सापकोटा, संघका सुनसरी अध्यक्ष रविन्द्र घिमिरे, मोरङ अध्यक्ष लक्ष्मी तिम्सिनालगायतले शुभकामना व्यक्त गर्दै औषधि व्यवसायमा थुप्रै समस्या रहेकोले सबै व्यवसायी एकताबद्ध ढंगले समाधानमा जुट्नुपर्नेमा जोड दिएका थिए भने नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले पनि शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा औषधि गौरीगञ्जका औषधि व्यवसायी कात्तिकलाल राजवंशीलाई सो गाउँपालका वार्ड नं १ को वडाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

Facebook Comments

फेसबुक

Holler Box