विशेष स्थानीय खबर

स्थानीय सरकारले संविधानको सपना पूरा गर्नतर्फ लाग्नुपर्छ: महान्यायाधिवक्ता खरेल

बनियानी, २७ पुस । महान्यायाधिवक्त अग्निप्रसाद खरेलले विश्वको कुनै पनि मुलुकमा नभएको शासकीय स्वरुप नेपालको संविधानमा भएको बताउनुभएको छ ।

झापाको अर्जुनधारा नगरपालिकाको छैठौँ नगरसभाको उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै महान्यायधिवक्ता खरेलले विश्वका २८÷३० वटा मुलुकमा मात्र संविधान सभाबाट संविधान जारी भएको बताउँदै नेपालको संविधान उत्कृष्ट भएको बताउनुभयो ।

उहाँले भर्खरै मुलुकले नयाँ संविधान प्राप्त गरेकाले तत्काल संशोधनको आवश्यकता नरहेको औँल्याउनुभयो । ‘संविधानमा कमी÷कमजोरी छैन भन्न किन्न, कहीँ कतै केही कमजोरी हुन सक्छ’, उहाँले भन्नुभयो, ‘कमी÷कमजोरी भए पनि संविधान राम्रो छ, त्यसलाई विकसित माध्यमबाट अघि बढाउन सकिन्छ ।’

कुनै पनि कुरालाई सीमामा बाँधिएमात्र विधिको शासन लागू हुने बताउँदै उहाँले भन्नुभयो, ‘समाजवाद उन्मुख संविधान भएकाले समाजवादको बाटोमा जानुपर्छ, दलीय एवम् आस्थाका आधारमा बाटो अलग–अलग भए पनि गन्तव्य एउटै हो ।’

राज्य शक्तिको बाँडफाँड स्थानीय तहमा पुगेकाले स–साना कुराका लागि सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । संविधान कार्यान्वयन एवम् सफल बनाउन स्थानीय सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘लोकतन्त्रलाई बलियो बनाउन स्थानीय सरकार बनाइएको हो’, उहाँले भन्नुभयो, ‘जसका कारण मुलुकमा सन्तुलित विकाससमेत भइरहेको छ ।’

दक्षिण अफ्रिका गएका बेला त्यहाँको सरकारले जनतालाई घर बनाइदिएको देखेको स्मरण गर्दै महान्यायाधिवक्ता खरेलले स्थानीय सरकारले जनताको आवासको हक प्रत्याभूतिका लागि योजना तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा जनताको आवास, स्वास्थ्य, शिक्षा लगायतका हकको प्रत्याभूति गर्नुपर्ने उल्लेख छ, स्थानीय सरकारले जनतालाई संविधान प्रदत्त अधिकार उपलब्ध गराएर संविधानको सपना पूरा गर्न लाग्नुपर्छ ।’

जनप्रतिनिधि जनताबाट चुनिएर आएकाले आत्मकेन्द्रीत विकास नभई जनताको आवश्यकतालाई प्राथमिकता दिन सुझाउनुभयो । ‘सबैभन्दा बलियो सरकार भनेको स्थानीय सरकार हो, जनता असन्तुष्ट भए जतिसुकै बलियो संवैधानिक व्यवस्था भए पनि त्यो कमजोर हुन्छ ।’

नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य प्रेम गिरी, जिल्ला समन्वय समिति प्रमुख सोमना पोर्र्तेल, उपप्रमुख कमला आचार्य खतिवडा लगायतको आतिथ्यता थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले गर्नुभएको थियो ।

Facebook Comments

फेसबुक

Holler Box