विशेष स्थानीय खबर स्वास्थ्य

झापामा हात्तीपाइले रोगको औषधि खुवाउन सुरु

भद्रपुर, २५ माघ । राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रमको आज झापामा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्त रुपमा औषधि सेवन गरेर सुभारम्भ गरेका छन् ।

जिल्ला जनस्वास्थ कार्यालयले झापाका १५ वटै पालिकामा माघ २५ गतदेखि औषधि खुवाउन सुरु गरिने बताउँदै कार्यक्रमको शुक्रवार चन्द्रगढीमा सुभारम्भ गरेको हो ।

झापासहित देशभर १३ वटा जिल्लामा चलाइने अभियानमा माघ २५ गते शनिवारदेखि औषधि खुवाउन सुरु गरिने जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए । उनले प्रत्येक पालिकाका विभिन्न स्थानमा ४१३ स्वास्थ्यकर्मीसहित ६१३ जना स्वयमसेविका खटाइसकेको बताए ।

उनका अनुसार यस बर्ष प्रदेश नम्बर १ का झापा, मोरङ र धनकुटामा हात्तीपाइले रोगको अभियान चलाइनेछ । सम्पूर्ण कार्यालयका प्रमुखहरु उपस्थित रहेको कार्यक्रममा मेची अञ्चल अस्पतालका प्रमुख डा। पिताम्बर ठाकुरलेसो औषधि सेवन गर्दा कुनै साइड इफेक्ट नहुने तर सामान्य रिंगटा लाग्ने, निन्द्रा आउनेलगायतका लक्षण देखा पर्ने हुँदा सर्वसाधारणलाई नआत्तिन समेत आग्रह गरे ।

नगरप्रमुख श्रेष्ठले सबैलाई विना हिच्किचावट औषधि सेवन गरेर झापालाई यस बर्षदेखि हात्तीपाइले रोगमुक्त बनाउन आग्रह गरे । अभियानमा दुई बर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला र ७० बर्ष माथिका एवम् दीर्घ रोगीहरु बाहेक आठ लाख जनालाई औषधि खुवाइनेछ ।

Facebook Comments

फेसबुक