विशेष शिक्षा स्थानीय खबर

हिमाली एजुकेशनको १३औँ वार्षिकोत्सवः उत्कृष्ट शिक्षकलाई सम्मानसहित विविध कार्यक्रम

बिर्तामोड, २ फागुन । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डशनले आफ्नो १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

फाउण्डेशनले आज एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट शिक्षक सम्मान, विविध नृत्य, गायन, नाटक लगायतका प्रस्तुतीसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा फाउण्डेशनका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता र अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले २१ औँ शताब्दीमा समयानुकूल शिक्षा प्रदान गर्न निजी विद्यालय सफल भएको बताए । उनले सामुदायिक र निजी शिक्षा बीचको दुई खाले शिक्षा अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘बालबालिका अहिले पनि दुई प्रकारको लिन बाध्य छन्,’ उनले भने, ‘यसको अन्त्य गर्न दुवै क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’ उनले अंग्रेजी बोल्दैमा शिक्षित नहुने भन्दै शिक्षाका लागि सर्वाङ्गिण विकास आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान विद्यालयकी शिक्षिका गोमा खनाललाई प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीले सुनुवार नृत्य, स्वागत गीत, स्वागत नृत्य (कालापानी), कविता लगायत प्रस्तुत दिएका थिए भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, दशनामी समाजका प्रदेश नं. १ का अध्यक्ष चन्द्र गिरी, दशनामी समाज बिर्तामोडका अध्यक्ष अर्जुन गिरी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सान्ता गिरी र विद्यार्थी मनोज तिवारीले स्वागत गरेका थिए । नर्सरीदेखि कक्षा–८ सम्म अध्यापन हुने हिमाली एजुकेशनमा हाल ४६० जना विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक÷शिक्षिका तथा ६ कर्मचारी रहेका छन् ।

Facebook Comments

फेसबुक