विशेष स्थानीय खबर

झापामा ब्राउनसुगरसहित चार जना पक्राउ

बिर्तामोड, २९ फागुन । झापाको मेचीनगर नगरपालिकाको दुई भिन्दाभिन्दै स्थानबाट बुधबार प्रहरीले चार जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

मेचीनगर–६ स्थित भन्सार गेटबाट र मेचीडाँडाबाट १८ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भन्सार गेट छेउबाट लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय बजार पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–४ का १७ वर्षीय राजेश खड्का, अर्जुनधारा नगरपालिका–७ का १८ वर्षीय सुनिलकुमार मण्डल र १९ वर्षीय राजेश कालिकोटेलाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै, मेचीडाँडाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका–८ का २६ वर्षीय कृष्ण दास दर्जीलाई १६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई चेकजाँच गर्ने क्रममा दर्जीले लगाएको पाइन्टको गोजीमा रुमालमा पोको पारेर राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Facebook Comments

फेसबुक