खेलकुद विशेष स्थानीय खबर

महिला गोल्डकपको उपाधि कनकाईलाई

बिर्तामोड, १ चैत । झपाको अर्जुनधारा–९ मा सम्पन्न प्रदेश नं. १ स्तरीय ‘सुखानी शहीद स्मृति महिला गोल्डकप’को उपाधि कनकाई नगर खेलकुद विकास समिति झापाले हात पारेको छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठान झापाको आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता कनकाईले नगद रू एक लाख २५ हजार प्राप्त गरेको छ भने उपविजेता ताप्लेजुङले रू ७५ हजार पाएको छ ।

कनकाईको जीतका लागि खेलको २८औँ मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । ताप्लेजुङकी पवित्रा लिम्बूले खेलको ६९औँ मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।

प्रतियोगिताको व्ुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडाले रू १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले रू पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले रू पाँच हजार प्राप्त गरेका छन् ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किप्पर कनकाईकी जशोदा लावतीलाई जनही रू सात हजार र प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद रू १० हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, बृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराई लगायतले नगद तथा पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले खेल क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताउनुभयो । खेलकुद विकासको सूचक समेत रहेकाले यस क्षेत्रको विकासमा सबै जुट्नपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments

फेसबुक

Holler Box