राजनीति विशेष स्थानीय खबर

बिर्तामोड नगरपालिकालाई नेकपा नगर कमिटीको १०० क्वीन्टल चामल

बिर्तामोड, २४ चैत । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ ।

विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदूरी गरिखाने वर्गको चुल्हो बल्न छाडेको छ । यस्तो परिस्थितिमा विपन्न परिवारको पनि नियमित चुलो जलोस् भन्ने मनसायले चामल किनेर सहयोग गरिएको नेकपा बिर्तामोड नगरकमिटी अध्यक्ष ज्ञानु प्रसाईंले बताए ।

बिर्तामोड नगरपालिका क्षेत्रमा बसोबास रहेका पार्टी संगठित सदस्यहरुबाट स्वेच्छिक सहयोग संकलन गरी अत्यावश्यक खाद्यवस्तु चामल नै किनेर नगरपालिकालाई प्रदान गरिएको अध्यक्ष प्रसाईको भनाई छ । नगरका विपन्न कुनै परिवार भोकै बस्न हुँदैन भन्ने सदिच्छा राखेर पार्टीको तर्फबाट सहयोग गरिएकाले नगरपालिकाले पनि कुनै विलम्ब नगरी पारदर्शी तवरबाट तिनको परिवारमा पुर्याउन प्रसाईको आग्रह छ ।

नेकपाले दिएको १० हजार केजी चामल ग्रहण गरेपछि नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडका ६ हजार ९०० विपन्न परिवारका लागि खाद्यान्न प्रदान गर्न थालिएकोले नेकपाले दिएको चामलले नगरपालिकाको अभियानमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनले नेकपाले जसरी नै बिर्तामोडमा क्रियाशील राजनीतिक दलहरु तथा सामाजिक, व्यवसायिक, वित्तीय संघ–संस्थालाई पनि यथासक्य नगद तथा जिन्सि सहयोग गर्न आव्हान गरे ।

चामल हस्तान्तरणका अवसरमा नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, नेकपा नगरकमिटीका इन्चार्ज युवराज दाहाल, सचिव मोहन सुब्बा, जिल्ला सदस्य अरुण श्रेष्ठ, व्यवसायी सुवास भट्टराईलगायतको सहभागिता थियो ।

Facebook Comments

फेसबुक

Holler Box