विशेष स्थानीय खबर

बिर्तामोडमा लकडाउन उल्लंघन गर्नेलाई एक घण्टा उभ्याइयो

बिर्तामोड, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघन गर्ने ७० जनालाई बुधबार बेलुका कारबाही गरिएको छ ।

लकडाउनको अवधिमा अनावश्यक हिँड्डुल गर्ने ७० जनालाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । कारबाही स्वरुप उनीहरुलाई सामाजिक दुरी कायमको चिह्न बनाएर एक घण्टासम्म सडकमा उभ्याइएको हो ।

‘लकडाउनको पूर्ण कार्यान्वयनका लागि सचेनासँगै यो अभियान शुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बेलुका भएपछि बन्द खुल्छ भन्ने भ्रम पनि रहेको पाइयो, सचेतनासँगै लकडाउनको पूर्ण कार्यान्वयनका लागि यस्तो कदम अघि बढाइएको हो ।’

लकडाउनको पूर्ण कार्यान्वयन गराउन टोल समितिहरुसँग समन्वय र सहकार्य गरिरहेको उहाँले बताउनुभयो । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन सबैको सहयोग जरुरी छ’, उहाँले भन्नुभयो, ‘प्रहरीको एक्लो प्रयासबाट मात्र यो सम्भव छैन, सबैले लकडाउनको पालना गरेर अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन ।’

यता, लकडाउनका समयमा प्रयोग गरिएको २९९ वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ती सवारीलाई नियन्त्रणमा लिएको हो ।

Facebook Comments

फेसबुक

Holler Box