कृषि स्थानीय खबर

कोभिड–१९ः झापामा ‘जागौँ युवा जागौँ, खेतबारी बाँझो नराखौँ’ अभियान

झापा, १५ वैशाख । बन्दाबन्दीका कारण स्थानीयस्तरमा तरकारीको अभाव हुन थालेपछि झापामा ‘जागौँ युवा जागौँ, खेतबारी बाँझो नराखौँ’ अभियान सुरु गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि स्थानीय स्तरमा तरकारीको अभाव हुन थालेपछि झापा उद्योग बाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित उक्त अभियान शुरु गरेको हो ।

संघका महासचिव पंकज शर्माले स्थानीय स्तरमा तरकारी उत्पादनका लागि प्रोत्साहन गर्न तरकारी बिऊ निःशुल्क वितरण थालिएको बताउनुभयो । स्थानीय स्तरमा तरकारी उत्पादन कम हुँदा भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था रहेको र मूल्य समेत आकाशिएकाले अभियान सुरु गरिएको उहाँ बताउनुहुन्छ ।

“अभियान अन्तर्गत एकलाख रुपैयाँभन्दा बढीको विभिन्न आठ किसिमका तरकारीको बीऊ वितरण गर्न थालिएको छ”, उहाँले भन्नुभयो । भिण्डी, फर्सी, लौका, घिरौँला, बोडी, करेला, काँक्रा र लट्टेको बीऊ समावेश गरी प्याकेट बनाइ वितरण गरिएको महासचिव शर्माको भनाइ छ ।

बन्दाबन्दीका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि स्वदेशमै तरकारी उत्पादन गर्न प्रोत्साहन स्वरूप कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गर्न थालिएको संघका अध्यक्ष नवराज पनेरूले बताउनुभयो ।

“बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने भएपछि फुर्सदको समयलाई उत्पादनसँग जोड्न पनि बिऊ वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “यसले लकडाउनको पालना हुनुका साथै समय उत्पादनशील क्षेत्रमा प्रयोग हुन्छ ।”

झापाका अधिकांश बजारमा भारतीय तरकारीमा निर्भर रहेकाले आयात रोकिँदा अभाव र मूल्यबृद्धिको समस्या देखिएको उहाँ बताउनुहन्छ । संघले बीऊ वितरणको सुरुवात गरेको छ ।

वितरित बीऊको सदुपयोग भए–नभएको अनुगमन गर्नुका साथै उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने योजना रहेको संघले जनाएको छ । युवा पुस्तालाई कृषिमा आकर्षित गर्न पनि अभियान शुरु गरिएको अध्यक्ष पनेरु बताउहुनुन्छ ।

Facebook Comments

फेसबुक

Holler Box