विचार विशेष

यसरी मिलाउन सकिन्छ नेकपाको विवाद

twitter sharing button
राजेन्द्र किराँती

विषय प्रवेशः
आज कोभिड–१९ विश्वकै साझा दुस्मन बनिरहेको छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै एकताबद्ध भएर महामारी विरुद्ध जुट्नुको अर्को विकल्प छैन । यही गम्भीर सच्चाइलाई हृदयङ्गम गर्दै नेपालले पनि लकडाउन लगायतका सबैखाले सावधानीहरु अपनाइरहेको छ । सिङ्गो नेपाली समाज कोभिड–१९ विरुद्धको महाअभियानमा जुटिरहेका छन् । सम्पूर्ण नागरिकहरु महामारी र अर्थतन्त्र पक्षघात हुनबाट कसरी जोगाउने भन्नेमा सर्वाधिक चिन्तित छन् । सबैको जोड र ध्यान महामारीमा केन्द्रित छ । सरकारले पनि औसत पहल लिइरहेकै अवस्था थियो ।

तर अनपेक्षित रूपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल विभाजन र संवैधानकि परिषद् सम्बन्धी दुइटा अध्यादेश मन्त्रिपरिषदको बैठकबाट निर्णय गराउन पुगे । राष्ट्रपति कार्यालयले पनि रातारात लालमोहर लगाइदियो । त्यसपछि भने अचानक नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिन पुग्यो । अध्यादेशको चौतर्फी विरोध भयो । तब प्रधानमन्त्री अध्यादेश  फिर्ता गराउन बाध्य भए । तर पनि प्रधानमन्त्रीले कसैसँग सल्लाह नगरी बेमौसमी बाजा बजाएको भन्दै सर्वत्र चर्को आलोचनाको पारो भने घटेको छैन उल्टै झन बढिरहेको छ ।

     अध्यादेश काण्डले स्वयं नेकपाभित्रको विवाद पनि उत्कर्षमा पु-याइदिएको छ । सचिवालयको बैठक फेरि बस्दैछ, जहाँ स्थायी समितिको बैठकको मिति तय हुने सम्भवना देखिन्छ । बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषयमा थप छलफल हुनसक्छ । भलै प्रधानमन्त्रीले वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्राे अध्यक्ष बनाउने कार्ड फालिसकेका छन् । अहिले पार्टी बाहिर पनि प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ । यसलाई प्रधानमन्त्रीले सामना गर्ने बताइरहेका छन् जसले मुलुक दुर्घटनातर्फ जाने अनुमान गरिँदैछ । तर एकपछि अर्को यस्ता घटनाक्रमहरु किन घटिरहेको छ ? यसमा व्यक्तिगत रूपमा प्रधानमन्त्री मात्रै दोषी हुन् वा पद्धति र प्रणालीमा नै समस्या हो ? कस्तो स्वार्थ समूहहरुको अन्तरविरोधहरु टकराउँदा यस्तो स्वार्थगत खेलहरु हुनेगर्छ ? यस्ता राजनीतिक चलखेल भित्रको अन्तरवस्तु के हुनसक्छ ? यस आलेखमा कुनै व्यक्ति विशेषको चिन्तन् प्रवृत्तिभन्दा पनि अली बृहत् सैद्धान्तिक राजनीतिक दृष्टिबाट विषयवस्तुको उठान गर्ने प्रयत्न गरिएको छ ।

नेपाली अर्थराजनीतिक पक्षः
     मूलतः संविधानमा नेपाली अर्थराजनीति समाजवाद उन्मुख भनेर उल्लेख गरिएको छ । यद्यपि समाजवाद संविधानमा लेख्दैमा आइहाल्ने कस्मेटिक पसलबाट खरिद गरेर ल्याउन सकिने शृङ्गार सामग्री जस्तो होइन । यो त योजनाबद्ध आन्दोलनको लामो ऐतिहासिक प्रक्रियाबाट मात्र सम्भव हुने राजनीतिक रूपान्तरणको प्रक्रिया हो । यसले निकै लामो र कष्टसाध्य आन्दोलनको माग गर्दछ । ख्यालठट्टा, भाषण अनि भजनरूपी रामनाम जप्दैमा समाजवाद स्थापना हुँदैन । विकास र समृद्धिको अमुक र औसत नाराकै भरमा समाजवाद आउँदैन । वस्तुतः नेपाली अर्थराजनीतिको मूलभूत चरित्र नव–उद्धारवादी पुँजीवाद नै हो । यो आजको विश्व अर्थराजनीतिको आधारभूत चरित्र हो । यसलाई दलाल एकाधिकार पुँजीवाद पनि भनिन्छ । यो विभिन्न मुलुकहरुको सापेक्षता र सजिलोको लागि विभिन्न शासन पद्धति वा रूपहरुमा अभिव्यक्त भएको देखिन्छ । यही सिलसिला अन्तर्गत नेपालमा पनि यसलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिएको छ । पदावलीमा खोट लगाउने ठाउँ देखिन्न । तर यसको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आयामलाई नियाल्दा सारतः यो औसत संसदीय राजनीतिक विम्ब नै हो । 

     मूलतः उदारपुँजीवादी अर्थराजनीतिमा खर्चिलो आवधिक चुनाव, आलोपालो दलीय सरकार, हरेक दलहरुले गर्ने औसत विकासे काम, औपचारिक, अनुत्पादक र आडम्बरी कर्मकाण्ड वरिपरि रुमलिएको हुन्छ । यसमा जुनसुकै प्रपञ्च, षड्यन्त्र र आश्वासनमार्फत चुनाव जितेर सरकार गठन गर्नैपर्ने वस्तुगत आवश्यकता रहन्छ । यसो भएपछि रूपमा वा धारा उपधाराहरुमा आदर्श वा सिद्धान्तको वकालत गरिए पनि व्यवहारतः सिङ्गोे राजनीति कमिसन, व्यवसायीकरण, दलालीकरण र व्यापारीकरणको दलदलमा फस्न पुग्दछ । मुठ्ठीभर व्यापारी, ठेकेदार, तस्कर र दलालको स्वार्थमा राजनीतिक घुमिरहेको हुन्छ । श्रम संस्कृति स्थापित हुँदैन । श्रमलाई हेयको भावले हेरिन्छ । श्रमभन्दा दलाली र कमिसनबाट नाटकीय सम्पत्ति आर्जन गर्नुलाई प्रतिष्ठाको विषय बनाइन्छ । राज्यको स्रोतसाधनहरु माथिको दोहनद्वारा राष्ट्रिय राजनीतिमा पकड कायम गरिन्छ । नेपाली राजनीति यसैको साक्षत उदाहरण हो । यस्तो पद्धतिको आर्थिक सत्ता रूपमा निजी नाफा र स्वार्थ, भूमण्डलीकृत दलाल एकाधिकारवादी चरित्र, सीमित व्यक्ति वा संस्थामा पुँजीको अतिकेन्द्रीकरणमा आधारित हुनेगर्दछ । यता बजारमा एकाधिकार  अनि असमान उत्पादन र वितरण विद्यमान रहनु नै नवउदारवादी अर्थतन्त्रको विशेषता हो । अर्थात यसको सबै सामाजिक सत्ताहरुमा निजत्व हावी हुन्छ भने राज्यको उपस्थिति असाध्यै न्यून हुन्छ । सम्पत्तिको अति–केन्द्रीकरण हुन्छ, जसले असमानता, विभेद र शोषणलाई बढोत्तरी गर्दछ । उदारवादको गम्भीर खोट यहीँनेर देखिन्छ । 

     त्यस्तै सामाजिक तथा सांस्कृतिक सत्ता उपभोगवादी हुन्छ । उपभोगवाद आडम्बर, ढोंग, तडकभडक, औपचारिकता र अति–शिष्टताहरुमा अभिव्यक्त हुने गर्दछ । अर्थात यसको सांस्कृतिक सौन्दर्य रूपवादी, रवाफिलो र देखावटी हुन्छ । रूपवादी अनुत्पादक कर्मकाण्डहरु तर्फ सिङ्गो समाज लालायित हुन्छ । समाजको सांस्कृतिक सार रूपवादतर्फ परिलक्षित हुन्छ जहाँ सबैको मनोवैज्ञानिक आकर्षणको भाष्य स्थापित हुन्छ । वर्तमान नेपाली अर्थराजनीतिको आधारभूत चरित्र यही भाष्य वरिपरि घुमिरहेको छ । यस्तो अर्थराजनीति हाबी भएको समाजमा सिद्धान्त, विचार, आदर्श, पद्धति, विधि, प्रक्रिया र अुनशासन हुँदैन । लगानी, क्रियाशीलता, इमानदारिता र मूल्यको कदर हुँदैन । हरेक भौतिक सत्ताहरु आत्मकेन्द्रित स्वार्थद्वारा निर्देशित र परिचालित हुन्छ । अर्थात नेपाली केन्द्रीय अर्थराजनीतिक पद्धतिमा गम्भीर सैद्धान्तिक तथा व्यावहारिक त्रुटि देखिन्छ । यस्तो गलत अर्थराजनीतिक पद्धतिमा स्वयं नेकपा पनि रुमलिरहेको छ । दुर्भाग्य र दुर्दशाको कडी यही हो । सारतः नेकपाको पछिल्लो विवाद यही अर्थराजनीतिक चरित्रको उपज हो । त्यसैले समग्र हल व्यक्तिमा होइन अर्थराजनीतिक पद्धतिको अग्रगामी विकल्पमा खोज्नुपर्ने देखिन्छ ।

नेकपाको वैचारिक पक्षः
     नेकपा विभिन्न ऐतिहासिक आन्दोलनहरुको पृष्ठभूमिबाट पैदा भएको राजनीतिक शक्ति हो । यो कसैको लहड, सनक र रहरमा स्थापना गरिएको पार्टी होइन । यो कम्युनिस्ट पार्टी नै हो भनेर दाबी गरिएको छ । वस्तुतः कम्युनिस्ट पार्टीको निर्माण प्रक्रिया अन्य औसत संसदीय लोकतान्त्रिक पार्टीहरुको जस्तो हुँदैन । यो आन्दोलनको ऐतिहासिक प्रक्रियासँगै निर्माण हुन्छ । तसर्थ यसको राजनीतिक विचारधारा र पद्धति सारभूतरूपमै संसदवादी दलहरुको भन्दा भिन्न हुन्छ । उद्देश्य र गन्तव्य फरक हुन्छ । यसलाई प्राप्त गर्ने आन्दोलनको विधि, प्रक्रिया र स्वरूप पनि नितान्त भिन्न हुन्छ । यहाँसम्म कि न्यायपूर्ण आन्दोलनको प्रक्रियामा अवरोध भए वर्गसङ्घर्षको विधिसमेत अङ्गीकार गर्दछ । साङ्गठानिक प्रक्रिया पनि भिन्न हुन्छ । अर्थात कम्युनिस्ट पार्टीले मानव समाज विकासको प्रक्रियालाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कोणबाट ग्रहण गर्छ । अन्तिम साध्यको रूपमा साम्यवादी राज्यव्यवस्थालाई स्वीकार गर्दछ । यसमा वर्गविहीन, राज्यविहीन, शोषणविहीन, विभेदविहीन र अन्यायविहीन निरपेक्ष समानता र न्यायमा आधारित साम्यवादी समाजको परिकल्पना गरिएको हुन्छ । 

    यसैगरी समाजवादलाई साम्यवाद अघिको सङ्क्रमणकालीन वर्गीय राज्यरूप  भनेर वकालत गर्दछ । यसलाई साम्यवादमा पुुग्ने निरन्तर सङ्घर्षको पुलको रूपमा परिभाषित गरिएको हुन्छ । समाजवादमा उत्पीडित वर्गीय अधिनायकत्व हुन्छ । माक्र्सले यस्तो अधिनायकत्व अनन्तसम्म रहने अर्थमा नभएर साम्यवाद अघिको अस्थायी अधिनायकत्व भनेर परिभाषित गरेका छन् । राज्यको समग्र अर्थराजनीतिक सत्ता सामूहिक स्वमित्वमा आधारित हुन्छ । राज्य, वर्गीय सत्ता, जेलनेल, सेना, पुलीस, बैङ्क र मुद्रा सबै हुन्छ । उत्पीडित वर्गीय अधिनायकत्व सुनिश्चित गरिएको हुन्छ । तर यस्ता सामाजिक सत्ताहरु साम्यवादमा पुग्ने रणनीतिक सङ्क्रमणकालीन पुलहरु हुन्, जुन विलोपीकरणको दिशातर्फ परिलक्षित हुन्छ ।

      वास्तवमा कम्युनिस्ट पार्टीको आधारभूत लक्ष्य भनेको समाजवाद हुँदै साम्यवादी राज्यसत्ता निर्माण नै हो । मान्छेले मान्छे माथि गर्ने उत्पीडन, शोषण, विभेद र अन्यायहरु विरुद्धको साङ्गोपाङ्गो उन्मुक्ति नै कम्युनिस्ट पार्टीको एकल उद्देश्य हो । कम्युनिस्ट आन्दोलनको यही भावभूमि माथि टेकेर विश्लेषण गर्दा नेकपाको विचारधारात्मक अन्तरवस्तु कस्तो रहेको छ ? यो बहसको सर्वाधिक गम्भीर सवाल हो । आज सैद्धान्तिक–वैचारिक दृष्टिकोण र साङ्गठानिक विधि वा प्रक्रियाहरुलाई नियाल्दा नेकपा आफ्नो आधारभूत बटमलाइन भित्र रहेको आभास हुँदैन । विचार, सङ्गठन, सङ्घर्ष, उद्देश्य र रणनीति जस्ता पक्षहरु औसत संसदवादी दलहरुभन्दा भिन्न देखिँदैन । विचार, कार्यदिशा, कार्यनीति, रणनीति, जीवनशैली, कार्यशैली, त्याग–बलिदान अनि निकृष्ट स्वार्थगत एवं गुटगत टक्करहरुलाई आधार मान्दा पनि यो औसत पार्टीभन्दा फरक देखिन्न । चिन्तनगत प्रवृत्ति र मनोविज्ञानहरु उस्तै देखिन्छ । तर कम्युनिस्ट र गैरकम्युनिस्ट बीच सैद्धान्तिक, राजनीतिक अनि व्यावहारिक लक्ष्मण रेखा अवश्य नै हुनुपर्ने हो । यसमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।

     विशेषतः यो आवधिक चुनाव कसरी जित्ने र बहुमतको सरकार गठन कसरी गर्ने भन्ने मनोवैज्ञानिक कक्षभन्दा बाहिर देखिँदैन । अन्य गैरकम्युनिस्ट दलहरु जस्तै औसत र औपचारिक कर्मकाण्डहरुमा  रुमलिएको छ । अर्थात अवसरवादी रणनीति, तानातान, चलखेल, तिकड्मबाजी र गुटबन्दी उही छ । आत्मकेन्द्रित व्यक्तिवाद, स्वार्थगत टक्कर, कमाउधन्दा, आसेपासेवाद  अनि भनसुनको परम्परा उही छ । त्यति मात्र होइन, कमिसन, दलाली, काखपाख र निषेध गरागर एउटै छ ।  देवत्वकरण, राक्षसीकरण, राजनीतिक दाउपेच र षडयन्त्र उस्तैछ । आलोचनात्मक संस्कृति, संस्थागत पद्धति र सामूहिक निर्णयको अभ्यास छैन । राजनीतिक सन्दर्भमा स्वस्थ्य र सिर्जनात्मक बहसको कुनै गुञ्जायस छैन । एकता सङ्घर्ष र रूपान्तरण नभएर फुट मात्रै छ । विचारद्वारा निर्देशित दुई लाइन सङ्घर्ष छैन । तब कोभीड–१९ ले विश्व अक्रान्त पारिरहेको वेला नेकपा आन्तरिक शक्तिसङ्घर्षमा रुम्मलिएकोछ । सही वैचारिक राजनीतिले नेतृत्व गर्न सकेको छैन । टिपन टापन वा औसत व्यवहारवाद हावी छ । नेकपाको सदस्यभन्दा गर्व होइन, अनुहार छोपेर बस्नुपर्ने भएको छ । स्वयं नेकपालाई लाज ढाक्नु र साख जोगाउनु हम्मे परिरहेको छ । एकपछि अर्को गलत कामहरुको शृङ्ला तन्किदो छ । यो कसैको दिमाग खुस्किएर मात्र भएको होइन । यसको जिम्मेवार कारण भनेको नेकपामा अन्तरनिहित कम्युनिस्ट विचारधाराको रक्षात्मकता, दुर्बलता र अस्पष्टता नै हो । पछिल्लो गुटगत झगडा यसैको कडी हो । 

एकता प्रक्रियाः
     तात्कालीन माओवादी केन्द्र र एमाले एकता भएको पनि झण्डै २ वर्ष भएको छ । भिन्नभिन्न राजनीतिक स्कुलिङबाट आएको दुइटै शक्तिको एकता निकै चुनौतीपूर्ण थियो । अझ विचारधारात्मक एकता रातारात हुनसक्दैन । यसले लामै छलफल र बहसको माग गर्दछ । तर एकता प्रक्रियामा नेतृत्वहरुले सैद्धान्तिक–वैचारिक पक्षमा गम्भीर ध्यान नदिएकै हो । सङ्गठन र सङ्ख्या जस्ता प्राविधिक पक्षलाई प्राथमिकता दिने काम गरियो । सही राजनीतिक एकतामा मूलतः सिद्धान्त पहिलो र सङ्गठन दोस्रो हुनेगर्दछ । सङ्गठनमा मात्र जोड गरियो । यसले टुङ्गो लगाउनै पर्ने वैचारिक राजनीतिक मुद्दाहरुको बहस थाँती राखिदियो । एकताको मुख्य पक्ष विचार सिद्धान्त नै हो । घनिभूत बहसमार्फत विचारधारात्मक एकरूपता कायम नगरी गरिएको एकता टिकाउ, परिणाम, गन्तव्य र उद्देश्यमुखी हुँदैन । खास गरेर तात्कालीन एमाले र माओवादी बीच गरिको एकता गणितीय जोडघटाउद्वारा निर्देशित थियो । कसको पल्लामा कति सदस्यीय टाउको भनेर लेखाजोखा गरियो । आफ्नो स्वार्थ समूहबाट कोको प¥यो परेन भनेर हिसाब–किताब गरियो । सबैको चिन्ता र चासो अङ्क–गणितीय आयतनको डायग्राममा सीमित रह्यो । 

     तर २१औँ शदीको कम्युनिस्ट पार्टी निर्माणको सवाल, यसको मूलभूत चरित्र अनि भावी कार्यदिशालाई नजरअन्दाज गरियो । कतिपय वैचारिक सवालहरु विस्तारै टुङ्गो लगाउने भन्दै विचारधारात्मक सङ्घर्षलाई ख्यालख्याल ठानियो । चोचेमोचे वा टालटुले एकता गरियो, जुन महाभूल थियो । परिणामतः आज नेकपाभित्र विचारधारात्मक बहस छलफल धेरै टाढाको विषय बनिरहेको छ । यो कम्युनिस्ट विचार, आस्था र मान्यतालाई आदर्श स्वीकार गर्ने तमाम कमरेडहरुका लागि अभिशाप सिद्ध भएको छ । उनीहरु कित पाखा लाग्दै जाने कित गलत काम जानी नजानी सिक्नै पर्ने विडम्बनापूर्ण दोबाटोमा उभिएका छन् । नेकपा भित्र अन्तरनिहित विचार र राजनीतिमा देखिएको गलत बुझाइ, व्याख्या गराइ अनि ग्रहण गराइ बीचको अन्तरविरोध नै पछिल्लो विवादको चुरो कुरा हो । विचारलाई नजरअन्दाज गर्नुको परिणाम हो ।

गुटबन्दीको परम्पराः
     कम्युनिस्ट आन्दोलन भनेको एउटा क्रान्तिकारी आन्दोलन हो । हजारौँ कार्यनीतिक शृङ्खलाहरुको जोडबलबाट निश्चित रणनीतिक उद्देश्य प्राप्ति नै यसको मुख्य कार्यभार हुन्छ । यो निरन्तर लम्बे आन्दोलन हो । यसमा रक्षात्मक र आक्रमक दुवै पहलु हुन्छन् । परिस्थिति अनुरूप दुवै अवस्थाहरुको आआफ्नै महत्त्व रहन्छ । तर आन्दोलनको प्रक्रियाको निरन्तरतासँगै सामना गर्नुपर्ने जटिल र कठिन परिस्थितिसँगै विभिन्न विचारहरु जन्मिने गर्दछ । तब कम्युनिस्ट पार्टी भित्र स्वस्थ्य, सिर्जनात्मक र रूपान्तरणमुखी दुई लाइन सङ्घर्ष हुनेगर्दछ । यो आन्दोलनको रापताप, चाप र उचाइसँगै अझ घनिभूत हुँदै जान्छ । अर्थात दुई लाइन सङ्घर्ष आन्दोलनको प्रेरक ऊर्जाशील कडी बन्दछ । यसले विचारधारात्मक रूपमा खडा भएको समस्या र चुनौतीहरुलाई परास्त गर्दै आन्दोलनको रूपान्तरण सहितको सश्लेषण गर्दछ । यसकारण दुई लाइन सङ्घर्ष कम्युनिस्ट पार्टीको जीवन हो । तर कम्युनिस्ट आन्दोलन आफ्नो रक्षात्मक तथा आक्रमक पहलुहरु बीच ऐतिहासिक प्रक्रियामा अघि बढिरहेको अवस्थामा हुने अन्तरसङ्घर्षलाई मात्र दुई लाइन सङ्घर्ष भन्निछ ।  आन्दोलनको प्रक्रियाविनाको अन्तरसङ्घर्ष विभिन्न अवसरवादी स्वार्थ समूहहरु बीचको गुटबन्दी मात्र हुनपुग्छ । यो दुई लाइन सङ्घर्ष सम्बन्धी सार्वभौम सिद्धान्त हो ।

     यसर्थ, हाल नेकपाभित्र भइरहेको विवाद दुई लाइन सङ्घर्ष हो कि गुटबन्दी ? यो धेरै महत्त्वपूर्ण सवाल हो । वस्तुतः नेकपाले अङ्गीकार गरिरहेको विचार, सिद्धान्त, राजनीति, कार्यशैली, जीवनशैली र समग्र क्रियाकलापहरु माथि निर्मम समीक्षा गर्दा उनीहरु कम्युनिस्ट आन्दोलनमा छन् जस्तो देखिँदैन । अर्थात वर्तमान चुनावी राजनीति कम्युनिस्ट पार्टीका लागि कार्यनीतिक मोर्चा मात्र हो । कार्यनीतिक मोर्चा भनेको रणनीतिक मोर्चालाई सहयोगी हुने सर्तमा मात्र स्वीकार गर्न सकिन्छ । अन्यता त्यो औसत संसदीय राजनीतिक प्रणालीको अभिन्न प्रक्रिया मात्र हुनपुग्छ । अर्थात कम्युनिस्ट आन्दोलनको निरन्तरता विनाको शक्ति सङ्घर्ष अन्ततः गुटबन्दीमा परिणत हुनेगर्दछ । मूलतः दुई लाइन सङ्घर्षमा विचारधारात्मक लडाइँ प्रधान हुन्छ । तर यता गुटबन्दीमा स्वार्थ समूहहरुको स्वार्थ प्रधान हुन्छ । प्राविधिक तथा व्यावहारिक सवालहरु निर्णायक हुन्छ । यिनै साश्वत सच्चाइलाई मनन् गर्दा वर्तमान नेकपाभित्रको विवाद चरम गुटबन्दीको रूपगत अभिव्यक्ति हो । नियमतः यसले रूपान्तरणसहितको नयाँ आधारमा नयाँ एकता नभएर फुटलाई अनिवार्य बनाउँछ, जसले पार्टी आन्दोलनलाई तहसनहस बनाइदिन्छ ।

नेतृत्वको हठवादी मनोविज्ञानः
     कम्युनिस्ट पार्टीमा विचारधारात्मक पक्ष कमजोर भएपछि नेतृत्वहरु यो वा त्यो हठ, घमण्ड र दम्भको हतियारद्वारा नेतृत्वको सिंहासनमा पुग्दछ । अर्थात कम्युनिस्ट विचारले नेतृत्व गरिरहँदा त्यही वस्तु वा सत्ता जनपक्षीय, सुन्दर, उपयोगी र सहयोगी हुन्छ । तर विचार कमजोर भयो भने जनविरोधी, कुरूप, अनुपयोगी र असहयोगी हुनपुग्दछ ।  यो सबैमा लागू हुने गर्दछ । यद्यपि कसैको हठ बढी र कसैको अली कम भन्ने मात्र फरक होे । नेकपाको आजसम्मको गतिविधिहरु नियाल्दा यो कम्युनिस्ट विचारद्वारा निर्देशित देखिन्न वा वैचारिक नेतृत्व निर्णायक छैन । यसमा अरू प्राविधिक, व्यावहारिक तथा औसत पक्षहरु हाबी छ । यसो भएपछि नेतृत्वहरुले विचारधारात्मक अस्त्रको अनिवार्यता महसुस गर्दैन । विचारलाई नजरअन्दाज गर्दै हठ, दम्भ र घमण्डद्वारा निर्देशित हुन्छन् । हेपाहा र पेलाह प्रवृत्ति हावी हुन्छ । हठ र दम्भ प्रधान हुन्छ भने राजनीतिक चरित्र कमजोर हुन्छ जुन कम्युनिस्ट विरोधी रवैया हो ।

     वस्तुतः यो ओली कमरेडको मात्र कुरा होइन सबैमा लागू हुनेगर्दछ । यतिसम्म भन्न सकिन्छ कि ओली कमरेडको हठ अरू भन्दा अझ बढी होला । अर्थात अरूमा कुनै हठ नै छैन भन्ने होइन । तर यस्तो हठले भोलि राष्ट्रिय राजनीतिमा अकल्पनीय दुर्घटना भए अन्यथा मान्नु पर्दैन । नेतृत्वले आन्दोलनको हितमा कठोर र लचक पहलकदमी लिने सवाल वैचारिक राजनीतिले निर्धारण गर्दछ । लहड र सनकको बलले मात्र कम्युनिस्ट आन्दोलनको कठिन र विकट यात्रा तय गर्न सक्दैन । त्यसैले ओली लगायतका नेताहरुमा हठ र अहं हाबी हुनु भनेको कम्युनिस्ट आन्दोलनप्रतिको शून्यता र आशङ्काको पराकाष्ठ हो । काँग्रेस जस्ता औसत यथास्थितिवादी लोकतान्त्रिक दलहरुकै पदचिन्हलाई अनुसरण गर्नु हो । कम्युनिस्ट पार्टी र नेतृत्वका लागि यो असाध्यै गम्भीर सवाल हो । यदि हामी कम्युनिस्ट आन्दोलनमै छौँ भने । होइन एक दुईवटा आवधिक चुनाव अनि दसबीसवटा विकासे परियोजनाहरुलाई मात्र केन्द्रमा राख्ने हो भने त व्यवहारवादी औसत राजनीति काफी हुन्छ । यसकै लागि नत कम्युनिस्ट आन्दोलन चाहिन्छ नत कम्युनिस्ट पार्टी । नेकपा यसमा स्पष्ट हुनुपर्दछ ।

निष्कर्षः
     तसर्थ नेकपाभित्रको चुलिँदो अन्तरविरोध कोही व्यक्ति विशेषको मात्र सवाल होइन । यद्यपि यसमा धेरैले ओली कमरेडको हठ र दम्भ भनेर टीकाटिप्पणी गरिरहेका छन् । एक हदसम्म यो टिप्पणीलाई सही मान्न सकिएला । तर ओली कमरेडको कमजोरी सहायक विषय हो । यो अंश मात्र हो । समग्र सवाल भनेको नेकपाले अङ्गीकार गरिरहेको वैचारिक राजनीतिक  लाइन वा कार्यदिशा नै हो ।

यतिखेर नेकपा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियामा नहुन पनि सक्छ । कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट आन्दोलनबाट टाढा भएपछि यस्तै खुद्रे कुराहरुमा अल्झिन पुग्छ । आज विश्व नै कोरोना महामारी विरुद्ध कसरी लड्ने भन्ने मुद्दामा केन्द्रित भइरहेको बेला यता नेकपा भने आन्तरिक द्वन्द्वमा फस्नु यसैको परिणाम हो । यो खेदजन्य र विडम्बनापूर्ण विषय हो । गुटगत विवाद र स्वार्थहरु चरम उत्कर्षमा पुगिरहेको छ । सिद्धान्त, राजनीति, कार्यदिशा र कार्यक्रमको आधारमा छलफल बहस भएको छैन । अवसर सुनिश्चितताको तराजुमा तौलेर गुटको गुरुत्वकेन्द्र वरिपरि फनफनी चक्कर मार्नेक्रम बढ्दोछ । कम्युनिस्ट आन्दोलन,  आस्था र विस्वासप्रति इमानदार नेता, कार्यकता र जनताहरु विलखबन्दमा छन् । उनीहरु आश्चर्यसँगै निराश भइरहेका छन् ।  

     त्यसैले नेकपाले आफ्नो सिद्धान्त, विचार, राजनीति, कार्यदिशा र कायनीतिलाई ठोस रूपमा अघि बढाउनुपर्दछ । कम्युनिस्ट आन्दोलनलाई सहयोगी हुने कार्यनीतिक र रणनीतिक शृङ्खलाहरु तय गर्नुपर्दछ । दुई चारवटा विकासे परियोजनाहरु सञ्चालन गरेकै भरमा कम्युनिस्ट सरकारको दायित्व पूर्ण हुँदैन । यो त काँग्रेस जस्ता औसत पुँजीवादी सरकारहरुले पनि गर्दैआएकै कर्महरु हुन् ।

जनताले काङ्ग्रेस र कम्युनिस्ट विचमा विचार, व्यवहार र उद्देश्यमा स्पष्ट भिन्नता खोजीरहेका छन् । अर्थात कम्युनिस्ट र गैरकम्युनिस्ट बीच सिद्धान्त, व्यवहार, जीवनशैली र कार्यशैलीमा लक्ष्मण रेखा कोरिनुपर्दछ । यो न्यूनतम रूपमा जनताले प्रत्यक्ष अनुभूति गर्ने हदसम्म हुनुपर्दछ । तब नेपाल जस्तो वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोधहरु व्यप्त रहेको मुलुकमा नेकपा कमजोर हुने कुरा कल्प नै गर्न सकिन्न । फुट र गुटबन्दी किनार लाग्नेछ । दम्भ र हठहरु रक्षात्मक हुनेछ । नेकपाको नेतृत्वमा कम्युनिस्ट आन्दोलन हावी हुनेछ । होइन भने यसलाई बचाउने कुनै औषधिको क्याप्सुल पाइने छैन । त्यसबेला पछुताउनुको अर्को विकल्प हुँदैन । अब ढाँटेर, झुक्याएर अनि भ्रमले धेरै चल्दैन । उधारो चुनावी नारा, आश्वासन र वाणीहरुले पनि टर्दैन । सबैलाई चेतना भया !    

Facebook Comments

फेसबुक

Holler Box