कृषि विशेष स्थानीय खबर

लकडाउन प्रभाव : भद्रपुरमा साना किसान सहकारीले पुर्याउँदैछ किसानलाई मल बीउ

भद्रपुर, २२ वैशाख । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बिँदै जाँदा किसानलाई बर्खे खेतीका लागि आवश्यक मल–बीउ जोहो गर्न समस्या देखिएको छ ।

किसानको यही समस्यालाई ध्यानमा राख्दै झापा भद्रपुर ४ मा रहेको साना किसान सहकारी संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घर–घरमा मल बीउ पुर्याउन थालेको छ ।

संस्थाले आफ्नो सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पुर्याउन शुरु गरेको संस्थाका अध्यक्ष मदनबहादुर वस्नेतले जानकारी दिनुभयो ।

पहिलो चरणमा २०० बोरा डीएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराइएको संस्थाका प्रवन्धक तीर्थराज ओझाले बताउनु भयो ।

न्गरभित्र रहेका कृषि सहकारी संस्थाहरुलेसमेत किसानलाई मल बीउ उपलब्ध गराउन चासो नदिइरहेको बेला साना किसान सहकारी संस्थाले कृषि सामग्री संस्थानबाट मल बीउ खरिद गरी सहुलियत मूल्यमा किसानलाई उपलब्ध गराइएको ओझाको भनाइ छ । संस्थाले कृषि सामग्री संस्थानको दमकस्थित कार्यालय र वीरगञ्जबाट मल बीउ ल्याएर वितरण गरिएको उहाले बताउनु भयो ।

संस्थाका अध्यक्ष वस्नेतले किसानलाई समयमै मल बीयउ उपलब्ध गराउन नसके उत्पादन घट्ने बताउँदै थप मल बीउ ल्याएर वितरण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

Facebook Comments

फेसबुक

Holler Box