विचार विशेष

रेडयोमा बोल्ने सानामान्छे खोज्दा, सिस्नोपानी

शालिक भट्टराई ‘अन्तरे’
बत्तिस तेत्तिस सालताका गाँउघरमा रेडियो सुन्न र देख्नलाइ नै दुर्लभको विषय थियो । हुनेखाने, देशपरदेश घुमेका लाहुरे परिवारका एकादुइ घरमा छिटफुट मात्रै रेडियो थियो । उबेला मलायाका लाउरेहरुको कसै-कसैको घरमा मात्रै रेडियो हुन्थ्यो । कोहि-कोहि लाउरेको घरमा रेडियो भन्दा ठुलो टेपरिकर्डर नै हुन्थ्यो । मेला बजार, बिवाह, जाग्राम जस्ता समारोहहरुमा टेपरिकर्डर भिरेर बजाउँदै हिड्नेहरु सारै ठुला गनिन्थे र ठुलै पल्टिन्थे । तरुनी केटीहरु पनि रेडियो भिरेर हिड्ने केटाहरुको पछि लाग्न तँछाड-मछाड गर्थे रे त्यो बेला । हामी स-साना मान्छेलाइ त्यस्ता कुराको खासै मतलव थिएन ।

हाम्रो घरमा पनि रेडियो चाहिने र किन्नु पर्ने विषयमा परिवारका सबै सहमत भएकाथिए । धरान कोटामा गएर ठुलेलाई रेडियो किनेर ल्याउन बा, ले आदेश दिनुभयो । अब घरमा रेडियो आउने भयो भनेर हामी भुरा मात्र हैन छिप्पिएका सबैलाइ हर्षबढाइ भयो । चारदिनमै घरमा रेडियो जो आइपुग्यो । तिनवेण्डको जापानी पानासोनिक रेडियो, ठाँउ-ठाँउ सेतो टिलिक्क टल्किने भएको ।

नयाँ बेटारी हालेर दलानको डिलमा राखेर ठुल्दाइले रेडियो बजाउने कार्यक्रम शुरु गर्नुभो । रेडियोको कान देब्रेतिर बटारेपछि रेडियो स्याँ..र…करायो ।बज्ने ट्याम भकैछैन, एकछिन पर्खौ- ठुल्दाइले भनेपछि सबैले मुखामुख गरे । धरानबाट नबिसाइ ल्याउँदा रेडियो गलेछ/रिसाएछ कि के हो भन्ने हामीलाइ भयो। नभन्दै साढेपाँच बज्न लाग्दा रेडियो नेपालले शंङ्खध्वनी शुरु गर्यो । हजुरआमा देखि नातिनातिना सबैजना गुन्द्रिपिरा ओछ्याइकन ध्यानपुर्वक बसियो । शंङ्खध्वनी पछि वाल कार्यक्रम शूरु भयो । बासुदेव दाइले प्यारा-प्यारा भाइ बैनीहो रेडियो नजिक आओ भनेपछि हजुरआमा अलिकति अघि के सर्नु भएको थियो सबैजना खितिति हाँसे अर्थात भाइबहिनीलाइ नजिक बोलाको हैन भन्दै, हामी भुराले जिउ अलि अघि घिसार्यौ । सबैजना हाँसोका पात्र भइयो ।

हामी केटाकेटी (खुद्रा) को एउटै जिज्ञासा भनेको रेडियो भित्र त्यो सानो ठाँउमा को कसरी बस्छ र यसरी बोल्छ ? हाम्री हजुरआमा भन्नुहुन्थ्यो तिमेरलाइ के थाहा ? त्याँ भित्र तिमेरु भन्दा धेरै साना मान्छे हुन्छन हौ, तिनीहरु नै बोल्छन । हामीलाइ त्यो कुरा सुनेर कता कता ग्लानी हुन्थ्यो । हामी भन्दा सानाले रेडियो भित्र बसेर त्यसरी बोल्छन, गीत गाउँछन भने हामी त मठ्ठु/लठुवा रहेछौ जस्तो हुन्थ्यो कोइकोइ बेला ।

साढेछ बजे जिल्ला समाचार सातबजे केन्द्रिय समाचार, समाचार पछि राष्ट्रिय गीत, यस्तै यस्तै राम्रा कार्यक्रम रहेछन । रेडियो बज्दै गयो हामी सुन्दै रह्यौ । आठबजे अंग्रेजीमा समाचार आएपछि भने सबैजनाको मुख ठुस्स भयो, किनभने अंग्रेजी बुझ्ने मान्छे पनि त हुनुपरो । ठुल्दाइ भने दशपढेको हुनाले अलि जान्ने, अरु सबै खुद्रा पढाइ गर्दै गरेका, बा पंण्डित पंण्डितले अंग्रेजी पढ्नै पर्दैन । हजुरआमालाइ साँवा अक्षरनै कसैले पढाएनन रे भन्नुहुन्थ्यो, काला अक्षर भैंसी बरावर । अंग्रेजीको समाचारपछि भने कार्यक्रम एकदमै खास्सा-खास्साका कार्यक्रम बजायो रेडियोले । लोकगितको कार्यक्रम लोकगित पनि कस्ता राम्रा भने कुमार बस्नेतका छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले…(भाउजु बुहारीका गाला र कान राता हुने खालका) यो ल्याउने र उ ल्याउने थाछैन एउटी स्वास्नी नल्याइ नि भा, छैन…… नारानगोपालको बिछोडको पीडा नसकी खप्न दशैको बेलामा…., आदि आदि । नौ बजेपछि फर्माइस गीत, दशबजे फेरी समाचार, दशबजे पछि अतितका गीतको कार्यक्रम यस्तै गरि रेडियो बज्दै गयो ।

पारीघरमा रेडियो आएछ भन्ने थाहापाउँन- वरपरका छिमेकिले भनेर होला रेडियोको आवाज बढाउने घटाउने जस्ता उरण्ठेउला खेला ठुल्दाइले गर्दै जानुहुँदो रैछ, हामी बवुरालाइ के थाहा । हाम्रा घरमा पनि रेडियो छ भन्ने फुर्ति देखाउनु भको होला ।

नयाँ रेडियो घरमा भित्रिएको दिन बेलुकीको भात पाकेन । आमा, छोरी, बुहारी सबै रेडियोतिरै अलमलमा परे । सबै खुशीले रेडियो वरिपरी वस्दै/सुन्दै समय गएको पत्तोभएन । जब रातको एघार बज्यो तव रेडियोले श्रीमान गम्भिर नेपाली भनेपछि हामी भोकै प्यासै सुत्यौं ।

भोलीपल्ट अर्थात इच्छाइएको सामान घरमा भित्र्याइएको दोस्रोदिन एकाबिहानै उक्त रेडियो गाउँ पञ्चायतमा पास गर्न जानुपर्ने र त्यसरी पास गर्ने कार्यका लागि घरका को को सदस्य जाने भन्ने विषयमा छलफल शुरु भैसकेको रहेछ । रेडियो पास गर्न बा र ठुल्दाइ जाने निधो भयो । नौबजे नै खाना खाइकन रेडियो पासगर्न जाने सदस्यले दौरासुरुवाल धडे । दुवैजना रेडियो पास गर्न गाँउपञ्चायत तर्फ लागेपछि सुनसान एकप्रकार घरमा सन्नाटा छायो ।

एकैदिनमा रेडियो बजियाले मोहनी लगाएछ हजुरआमाले भन्नुभयो, सबैजना एकप्रकारले थकथकाए। परिवारका अन्य सदस्य सहित हजुरआमा पनि आँगनमा वर र पर घुम्ने गर्नुहुन्छ । घुम्ने लागेको बाख्रो जस्तो । रेडियो सुन्ने चाहाना भनेको पनि नशा नै हुँदोरहेछ ।

रेडियो पास गर्ने टोली चारबजे रेडियो पासको धनीपुर्जा लिएर घरमा आएपछि फेरी खुशियाली छायो । बर्षैपिच्छे नयाँ (नविकरण) बनाउनु पर्छ अरे, बा,ले खर्च बढ्यो भन्दै दलानको डिलमा थ्याच्च बस्नु भयो ।

साढेपाँच बजेपछि मात्रै रेडियो नेपाल बज्न शुरुहुने व्यहोरा थाहापाएका हामीलाइ गाँउको एउटा रेडियोको रिठ्ठाबोटे टुप्लुक्कै आइपुगे । अँ पंण्डित बा रेडियो त संधै बजिरहन्छ नि.. खर्साङ्ग, सिलोङ, अलइन्डिया आदि आदि। उस्ले के के गरेर रेडियो खार्साङ्ग बजाएछ ।खर्साङ्ग रेडियो पनि नेपाली भाषामै बज्दो रहेछ । अब देखि साढेपाँच बजे सम्म कुर्ननपर्ने छिमेकी ति रेडियोका धामीले बताएपछि हाम्रा खुट्टा भूँइमा हुने कुरै भएन ।

रेडियोलाइ धुलोमैलो लाग्ने र बिहावारीमा भिरेर जाँदाको सान अर्कै हुने कुरा त बाँकी नै थियो । नभन्दै वालीमा सिलाएको वालीघरेलाइ रेडियोको खोल अर्थात (र्दौरा) सिलाउन घरमै बोलाउने घरसल्लाह पनि मिल्यो । वालीघरेलाइ बोलाउन साँइलोलाइ पठाउने टुङ्गो लाग्यो । एकघण्टा टाढाको बाटो भातखाने बेलामा साँइलो खुशी हुँदै उफ्रिदै भोकै कुदो ।यता खोलको कपडा किन्नजाने भयो काँइलो ।

पंण्डितको घरमा जापानी पानासोनी रेडियो किनेर ल्याएरे भनेर गाउँ-घरमा पुरै सनसनी हल्ला फैलिसकेको थियो । एकादुइ गर्दै रेडियो हेर्ने र सुन्नेहरुको घर-आँगनमा भिड जम्मा भएको थियो । ठुल्दाइले रेडियो सँधै झुण्डाउने ठाँउमा काँटी ठोक्न थाल्नु भयो । मुलढोकाको ठिक्क दाहिने भित्तामा । हामी जस्ता केटाकेटीले नभेट्ने गरी अलि माथी ।

घरमा रेडियो आएको करिव एकमहिना भएको हुँदो हो । हाम्रो घरका सदस्यले रेडियो सुन्ने र आ-आफ्नो कामकाज गर्ने लय पक्डिसकेका थिए । आफुलाइ मन पर्ने कार्यक्रम सुन्न तोकिएको काम सकेर रेडियोको छेउमा आएर बेलैमा बस्ने सुन्ने, अर्थात काममा बाधा नपार्ने। रेडियो प्राय बिहान देखि राती सम्म घरको मूलढोकाको दाहिने पट्टिको फलामको काँटीमा झुण्डिएर अविरल बजिनै रहन्थ्यो ।बेला-बेलामा ठुल्दाइ बेटारी फेर्नुहुन्थ्यो ।

तर, हामी स-साना भुराको एउटा जिज्ञासा कसैले मेटाइ दिएको थिएन । त्यो के भने- रेडियो भित्र बसेर बोल्ने हजुरआमाले भनेजस्ता स-साना मान्छे कस्ता र कत्रा हुन्छन ? एकदिन घरमा ठुला मान्छे कोहिपनि नभएको मौका पारेर हामीभुरा सान्ने, चिम्से, मिठ्ठी र म भएर रेडियो भित्रका साना मान्छे हेर्ने निर्णयमा पुग्यौ । रेडियो हामीले नभेट्ने अग्लो ठाँउमा झुण्डाइएको थियो । घरका ठुला मान्छे सबै काममा गएका थिए । ठुलो डोको ल्याएर रेडियोको ठिक्कमुनी पट्टि घोप्ट्याएर राख्यौ । डोकोमाथि सान्नेलाइ चढाएर रेडियो निकाल्यौ । घरबाट अलिपर बाँसघारीमा लिएर हामी चारैजना गयौ । हँसिया र ढुङ्गाले होसियारी पुर्वक रेडियो फुटायौ र भित्र मान्छे हेर्यौ । तर स-साना भनिएका मान्छे कोही पनि त्याँहा थिएनन । हामीले लगभग रेडियो नबज्ने अवस्थामा पुर्याएका थियौ । एउटा खास्टोमा टुक्राटुक्री भेलागरी बेरेर दलानमा रहेको खाटमुनी राखेर सबै चारैजना भाग्यौ ।

साँझ आफ्नै घरआउन धेरै डरलाग्यो । हाम्रो व्यापक खोज तलास भएछ । नभन्दै घरबाट अलिपरको खरबारी डाँडामा बसिरहेका थियौ । हाम्रो बदमासी बुझेर नै घरबाट लिन जानुभयोको हुनुपर्छ । रेडियोको विषयमा केहि नथापाए जसरी धेरै फकाएर हामीलाइ घर सम्म ल्याउनु भयो । तर, घरमा आइपुग्दा त आँगनमा एकबाल्टी पानीमा सिस्नोको स्याउलाको मुठो सहित ठिक पारेर राखिएको रहेछ । हामी चारैजनालाइ छेपारीमा घुमाइ-घुमाई त्यहि सिस्नोपानीले बा र ठुल्दाइले ठिक पार्नुभो । हजुरआमाले धन्न थप सिस्नोपानीको कुटाइबाट जोगाउनु भयो । पाँचदिन सम्म सिस्नोको फोका उस्तै थियो । विस्तारै फोकाहरु सुक्दै गए रेडियोमा बोल्ने मान्छेहरु हामीजस्तै हुँदारहेछन भन्ने बुझ्दै जान थालियो । धन्यवाद ।

भद्रपुर-10, केन्द्रमोड ।

Facebook Comments

फेसबुक

Holler Box