स्थानीय खबर

बिर्तामोडमा धमाधम निर्माण हुँदै अलैंची सूचना केन्द्र

भद्रपुर, ९ जेठ । बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबै खाले जानकारी सहज ढंगले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको दोस्रो तलाको ढलाइ बुधबार गरिएको छ ।

अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा निर्माण भइरहेको सुचना तथा अनुसन्धान केन्द्र एवम् सचिवालय भवन नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

पहिलो सभाहल र सचिवालय एवम् दोस्रो तलामा व्यवस्थित सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न निर्माणाधीन भवनको लकडाउनका कारण रोकिएको काम सामाजिक दूरी कायम राख्दै अघि बढाइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।

भवन निर्माणका लागि १ नं प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ भने संघीय कृषि मन्त्रालयले पनि भवन निर्माणमा सहयोग गरेको छ । तीनतले सो भवनको लागत स्टिमेट दुई करोड रहेकोमा हालसम्म ८० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । भवन निर्माणमा अलैंच िव्यवसायीहरुले पनि आर्थिक सहयोग गरेको उनले बताए ।

व्यवस्थित र प्रविधिसम्पन्न सूचना केन्द्र सञ्चालन गर्ने उद्देश्यले निर्माण शुरु भएको भवनलाई अलैंचीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नसमेत मन्त्रालयले सुझाव दिएको र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन आफूहरुले पाएको भट्टराईले बताए ।

नेपालमा वार्षिक लगभग पाँच हजार मेट्रिकटन अलैंची उत्पादन र पाँच अर्ब बराबरको वैदेशिक मुद्रा आर्जन हुने गरेको छ । तर, यो वर्ष विश्वव्यापी कोरोना भाइरस महामारीका लागि निर्यात घट्नसक्ने अनुमान गरिएको छ ।

Facebook Comments

फेसबुक

Holler Box