कृषि विशेष स्थानीय खबर

झापामा सूर्यमुखी खेतीतर्फ किसानको आकर्षण

सन्तोष शर्मा
बनियानी, १२ जेठ ।
झापामा पछिल्लो समय सूर्यमुखी फुल खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । अहिले कृषकले लगाएको सूर्यमुखी ढकमक्क फुलेको छ भने कतिपय ठाउँमा बाली उठाउने बेला भएको छ ।

बिर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी क्षेत्रफलमा सूर्यमुखी फुल खेती गरेका छन् । बिर्तामोड नगरपालिकाले खेती प्रोत्साहन एवम् प्रवद्र्धनका लागि बिउ र कृषि चुन उपलब्ध गराएपछि कृषकले खेती लगाएका थिए ।

नगरपालिकाले ४२० बोरा कृषि चुनमा ५० प्रतिशत अनुदान दिएको छ भने बिउ निःशुल्क उपलब्ध गराएको छ । साथै, प्राविधिक सहयोग पनि गरिरहेको कृषकको भनाइ छ ।

अन्नपूर्ण कृषक समूहका सदस्य गोपालकृष्ण शिवकोटीले १० कठ्ठामा सूर्यमुखी फुल खेती गरेको बताउनुभयो । “यसै वर्षदेखि सूर्यमुखीको सामूहिक खेती शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “तेलहन बाली भएकाले बजारको कुनै समस्या छैन, उत्पादन पनि राम्रो हुने थाहा पाएपछि खेती थालेका हौँ ।”

अर्का कृषक देवीप्रसाद शिवाकोटीले पनि १० कठ्ठामा सूर्यमुखी फुल खेती लगाएको बताउनुभयो । “पहिलो पटक भएकाले सुरुवाति अवस्थामा १० कठ्ठामा लगाएको छु”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो भने खेती विस्तार गर्ने सोच छ ।”

त्यस्तै, झापा गाउँपालिकामा समेत कृषकले सूर्यमुखी फुल खेती गरेका छन् । यहाँका कृषकले करिब ५० बिघा क्षेत्रफलमा सूर्यमुखी फुल खेती गरेका हुन् ।

झापा गाउँपालिका–६ का कृषक बलबहादुर भण्डारीले पाँच कठ्ठा जग्गामा सूर्यमुखी फूलको खेती गर्नुभएको छ । त्यस्तै, अर्का कृषक दुर्गाबहादुर विष्टले सात कठ्ठामा सूर्यमुखी फूलको खेती गर्नुभएको छ ।

“खेती गर्न सजिलो छ”, कृषक विष्टले भन्नुभयो, “उत्पादन राम्रो हुने भएकाले खेती लगाएको हुँ ।” खेतीमा झन्झट नभए पनि बेला–बेलामा सुँगाले बाली खाने गरेको उहाँको भनाइ छ ।

उहाँका अधिकांश कृषकले तोरीको सट्टा सूर्यमुखी लगाएका छन् । तोरीको भन्दा सूर्यमुखीको उत्पादन राम्रो हुने भएकाले कृषक यसतर्फ आकर्षित भएको अर्का किसान डिल्लीप्रसाद चापागाईंको भनाइ छ । “बेच्न भन्दा पनि आफूलाई वर्षभरि खान पुग्नेगरी कृषकले सूर्यमुखी खेती गरेका छन्”, उहाँले भन्नुभयो ।

बिर्तामोड नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया मोरङ र सनुसरीमा व्यावसायिक रुपमा सूर्यमुखी फुल खेती हुने गरेको बताउनुभयो । “झापामा पनि सूर्यमुखीको खेती विस्तार हुँदैछ”, उहाँले भन्नुभयो, “बिर्तामोडमा पनि व्यावसायिक खेतीका लागि नगरपालिकाकै तर्फबाट सुरुवात गरिएको छ ।”

बलौटे माटो सूर्यमुखी फुल खेतीका लागि उपयुक्त हुने उहाँको भनाइ छ । नगरपालिकाको पहलमा लगाइएको सूर्यमुखी खेती प्रतिकठ्ठा एकदेखि डेढ मनसम्म उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन राम्रो भए कृषक आफैँ उत्साहित भएर खेती गर्न अग्रसर हुने र नगरलाई तेलमा आत्मनिर्भर बनाउन सकिने अधिकृत कडरियाले बताउनुभयो छ ।

जिल्लाको कमल गाउँपालिका, भद्रपुर, दमक, मेचीनगर लगायतका स्थानमा समेत कृषकले सूर्यमुखी फुल खेती थालेका छन् ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box