शीर्ष खबर समाज स्वास्थ्य

थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता

झापा, १२ जेठ । कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ सङ्क्रमित फेला परेका हुन् । नयाँ सङ्क्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमश ः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक÷एक जनाको निधन भएको थियो ।

सङ्क्रमितको सङ्ख्या ६८२ जना

कोभिड–१९ बाट आजसम्म सङ्क्रमितको सङ्ख्या ६८२ जना पुगेको छ । सङ्क्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । सङ्क्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जनाा, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् ।

आजै २५ जना ‘डिस्चार्ज’

यसैगरी आज २५ जना कोभिड–१९ जितेर घर फर्किएका छन् ।
आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या ११२ जना पुगेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक÷एक जना डिस्चार्ज भएका छन् ।

शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उहाँले बताउनुभयो ।

पाँच हजार सङ्क्रमित अनुमान गरेर स्वास्थ्य सामग्रीको व्यवस्था

सरकारले पाँच हजार सङ्क्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा भोगेन्द्रराज डोटेल पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले शुरुमा एक हजार ५०० सङ्क्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि सङ्क्रमित सङ्ख्या दिनहँु बढेकाले पाँच हजार सङ्क्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताउनुभयो । उहाँका अनुसार सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ ।
उहाँले हालसम्म एक लाख भिटिएम प्राप्त गरेको र ती भिटिएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको जानकारी दिनुभयो । दुई लाख पाँच हजार भिटिएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

विभागले पिसिआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ । उहाँले थप एक लाख ७५ हजार पिसिआर किट खरिद प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

यसैगरी एक लाख ७५ हजार आरडिटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) मा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ ।

यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ । अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको महाशाखाका निर्देशक डोटेलले जानकारी दिनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box