विचार

सामाजिक छेपारादेखि सावधान !

शेखर पाण्डे
छेपारोसंग रंग बदल्नसक्ने गुण हुन्छ । विज्ञानका अनुसार, छेपारोको शरीरमा भएको ’क्रोमाटोफोर्स’ नामक विशेष प्रकारको कोषले रंग बदल्ने कार्यलाई सघाउ पुर्याउँछ ।
रंग बदल्नसक्ने छेपारोको गुण र ’क्रोमाटोफोर्स’का बीच के, कति र कस्तो सम्बन्ध हुन्छ भन्ने विज्ञानसम्बद्ध थप ज्ञान छैन मसंग । जेका बारेमा म जान्दिन, त्यस विषयउपर बोल्दिन पनि । सामान्य मानिसमा हुने यो प्राथमिक चारित्रिक गुण छ मसंग । त्यसैले विज्ञानका कुरालाई एकछिन पर्तिर सार्दै केहीबेर समाजको कुरा गरौं ।
हाम्रो समाजमा छेपारोको कुनै कमी छैन ।

जता पनि छन् छेपारा ।
सर्वत्र छन् छेपारा हाम्रो वरिपरि ।
बदल्नलाई दिन होइन, छिन भए पुग्छ यी छेपारालाई ।
यो छिनबाट त्यो छिनमा पुग्दा सहजरूपमा पर्लक्कै पल्टिनसक्ने यी छेपारालाई रत्तिभर घिन लाग्दैन आफू र आफ्नो यो अस्थायी चरित्रसंग ।
हीनताबोध र घिनसंग यी छेपाराको दशहात परको पनि साइनो हुन्न । बेखबर हुन्छन् यी छेपारा हीनताबोध र घिनका बारे ।
यिनका चटक उदेकलाग्दो हुनेगर्छ ।
यो पल सेतो, अर्को पल कालो !
यो पल उत्तानो, अर्को पल घोप्टो !
यो पल पूर्व्तिर, अर्को पल पश्चिमतिर !
यो पल उत्तरतिर, अर्को पल दक्षिणतिर !
यो पल विनयी, अर्को पल आदेशात्मक !
यो पल आक्रामक, अर्को पल रक्षात्मक !
यो पल ’आहा !’, अर्को पल ‘छिस्’ !
साँच्चै नै विचित्र ढंगले छिनछिनमा यी छेपारा परिवर्तन गर्छन् आफूलाई ।
जीवविज्ञानमा वर्णन गरिएको छेपारोले रंग बदल्दा समाज प्रभावित हुन्न ।
सामाजिक छेपारोले रंग बदल्दा समाज प्रदुषित हुनपुग्छ ।
जीवविज्ञानमा वर्णन गरिएको छेपारोले रंग बदल्नु सृष्टिको नियम हो ।
सामाजिक छेपारोले रंग बदल्नु भनेको स्वार्थको नियम हो ।
सृष्टिको पूजा गरिन्छ भने स्वार्थलाई घृणा ।
सृष्टिमा आनन्द हुन्छ भने स्वार्थमा उत्तेजना ।
सृष्टिलाई देव मानिन्छ भने स्वार्थलाई दानव ।
सृष्टि ’आहा !’ हो, स्वार्थ ’छिस्’ हो ।
स्वार्थको नियम अनुसार आफ्नो रंग बदल्ने हरेक छेपारोको यो छिनछिनको परिवर्तनबाट हामी हरेकले आफूलाई टाढा राख्न सकिएन हाम्रो नाकैअघि हाम्रो समाजको सौन्दर्य धुलोपीठो भएको हेर्न हामी बाध्य हुनपुग्छौं ।
समाजलाई कुरुप नबनाऔं ।
“सामाजिक छेपारादेखि सावधान” भन्ने नारा घन्काउन जरुरी छ ।
आउनोस्, समाजको सौन्दर्यका निम्ति एकजुट हुने प्रणका साथ “सामाजिक छेपारादेखि सावधान” भन्ने नाराको छातामुनि सम्पूर्ण समाजप्रेमी ओत लागौं ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box