समाज स्थानीय खबर स्वास्थ्य

झापाका ६०० जनाको पीसीआर रिपोर्ट नआउँदा समस्या

सन्तोष शर्मा
झापा, १९ जेठ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको झापामा कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबको (पीसीआर रिपोर्ट) रिपोर्ट नआउँदा समस्या भएको छ ।

कोरोना प्रभावित क्षेत्रका विभिन्न स्थानबाट संकलन गरिएको छ सय जनाको स्वाबको रिपोर्ट नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।

“कोरोनाको उच्च संक्रमण देखिएको कचनकवल गाउँपालिकामा संकलन गरिएको तीन सय र अन्य कोरोना प्रभावित क्षेत्रमा संकलन गरिएको स्वाबको रिपोर्ट आएको छैन”, उहाँले भन्नुभयो, “१२ दिन अघिदेखिको रिपोर्ट नआउँदा समस्या भएको छ ।”

रिपोर्टको आधारमा संक्रमण फैलिन नदिन कस्तो रणनीति अपनाउने भन्ने योजना बनाउने सम्बद्ध निकायलाई सहज हुन्छ । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदा स्वाब संकलनमा समेत समस्या भएको छ । रिपोर्टको प्रतिक्षामा रहेकाहरु पनि मानसिक तनावमा छन् ।

यता, कोशी अञ्चल अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाको मेसिन बिग्रिएको छ । जसकाकारण कोरोना परीक्षणमा थप समस्या भएको छ । कोशी अञ्चल अस्पतालकी मेडिकल सुरिटेन्डेन्ट संगीता मिश्राले हिजो राति साढे एघार बजेदेखि मेसिन बिग्रएको बताउनुभयो ।

झापामा हालसम्म आरडीटी विधिबाट एक हजार ९२८ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये २९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, पीसीआर विधिबाट दुई हजार ४६४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये १११ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

हाल झापाको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिकामा एक÷एक जना, गौरादहमा दुई जना, गौरीगञ्जमा चार जना र बाह्रदशीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box