समाज

अन्नपूर्णका प्रधानसम्पादक थापाको राजीनामाः वास्तविकता एउटा, चर्चा अर्कै

काठमाडौँ, २९ जेठ । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले पदबाट राजीनामा दिएको विषय सञ्चारमाध्यममा चर्चामा छ । कर्मचारी र पत्रकारको तलब व्यवस्थापनले नदिएपछि राजीनामा दिएको अभिव्यक्ति थापाले दिएको विषयमा चर्चामा रहे पनि कारण भने फरक रहेको पाइएको छ ।

कांग्रेस निकट रहेका हरिबहादुरले कम्युनिष्ट निकट पत्रकारलाई हटाउने र कांग्रेस निकटलाई संरक्षण गर्ने गरेकाले अन्नपूर्ण भित्र आन्तरिक विवाद यसअघि देखिनै चर्किएको थियो । सोही कारणले उनको अन्नपूर्णको यात्रा सकिएको छ ।

आफूले चालेका कदममा थापा सफल नभएको र उनको अन्नपूर्णमा म्याद नथपिने पक्का भएपछि पत्रकार र कर्मचारीलाई तलब नदिएको बहाना बनाउँदै उनले राजीनामा दिएको व्यवस्थापन स्रोतको दाबी छ । लकडाउनका कारण कार्यालय र बैंक नखुल्दा रोकिएको कर्मचारी र पत्रकारको तलब बुधबारबाट नै हाल्न सुरु गरेको र शुक्रबारसम्ममा सबैको तलब हालिसक्ने अन्नपूर्ण मिडिया नेटवर्कले जनाउँदै थापाको राजीनामा सँगै आएको विषय गलत भएको बताएको छ ।

थापा १५ साउन २०७५ मा अन्नपूर्ण पोष्टको प्रधानसम्पादकमा नियुक्त भएका थिए । थापाको आगमनसँगै अन्नपूर्ण पोष्टमा राजनीतिक धु्रवीकरण शुरु भएको त्यहाँ कार्यरत पत्रकारहरु बताउँछन् । कांग्रेस निकट थापाले कम्युनिष्ट निकट पत्रकारलाई कारबाहीदेखि जागिरबाट हटाउनेसम्मका काम गरेका थिए ।

केही दिनअघिमात्र त्यहाँ कार्यरत नेकपा निकटका पत्रकारहरुलाई हटाउन थापाले अध्यक्ष रामेश्वरसँग प्रस्ताव गरेका थिए । तर, अध्यक्षले संकटको बेला हटाउन नसकिने जवाफ दिएका थिए । थापाको प्रस्ताव अस्वीकृत भएपछि आन्तरिक विवाद थप गहिरिएको थियो । स्रोतका अनुसार पत्रकार नरेन्द्र साउद, शम्भू कट्टेल, सुवास गोतामेलाई हटाउने प्रस्ताव गरेका थिए । उनीहरु सबै बामपन्थी निकट पत्रकार हुन् ।

हरिबहादुर थापा प्रधानसम्पादक नियुक्त भएपछि प्रेस युनियन निकटका पत्रकारहरुको बढुवा गरेका थिए भने प्रेस संगठन निकटका पत्रकारको जागिरसमेत खोसेका थिए । युनियन निकटका चन्द्रशेखर अधिकारीलाई उनले राजनीतिक ब्यूरो चिफ बनाए भने युनियन निकटकै विश्वराज खनाललाई डेस्क प्रमुख बनाए ।

त्यसैगरी, बामपन्थी निकट संगीत स्रोता, राजु स्यांगतान लगायत ६ जनालाई अन्नपूर्ण छोड्न बाध्य बनाए भने मधेश विट हेर्ने नविन झालाई पदबाट हटाए । जिल्लामा कार्यरत कतिपय पत्रकारलाई पनि उनले हटाएका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक