विचार समाज साहित्य

कविता : कोरोना कहर

शालिकराम भट्टराई ‘अन्तरे’
एकभुँडी भोक पस्किएर थालमा,
पल्याक पुलुक टोलाउँदैछन् क्वारेन्टानहरु ।
सेल्फीका राहत, आहत बोकेर सकिए
अनि मेटिए कुवामा साबुनका फिजहरु ।
हो, आज पनि भेटिए
त्यतै कतै कोरोनाका आइसोलेशनहरु,
र भेटिए राहतका रित्ताथैला बिसाएका,
समाजसेवी मनुवाहरु ।
चिहाएर हेर्छु
टेलिभिजनका थाङ्गने लफ्फाजीहरु,
अनि सुन्छु रेडियोका
सेनिटाइजर सुझावहरु ।
लामै भयो कथा यो कहर,
विश्व ब्रमाण्डको ।
सोधौं कसलाई ओखती ?
हिजो सानेले तातोपानीमा
अलिकति नुन फिटेर रात काट्यो ।
कान्छीले एम्बुलेन्सका प्वालबाट
अस्पताल नदेखी श्वास बिसाई ।
साइलाबा भन्दैथिए,
आँशु पनि नुनिलै हुन्छ है केटा हो !
एकथरीका कराँसोमा
फलेकै छन, झुलेकै छन वालाहरु ।
अर्काथरी अमुर्त भाषाका बकवास ओकलिरहेछन ।
भो, अब चाहिन्न, डाक्टरका ओखतीहरु !
पुग्यो अब, बिजुवाका मुन्दुमहरु,
र पुग्यो पुरेतबाजेका ग्रहजापहरु ।
अब, फगत कोरोना कुस्तीमा रम्नुछ ।
भद्रपुर– १० (संप्रतिः कृषि ज्ञान केन्द्र, इलाम)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक