बिर्तामोड, २१ असार । झापा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य एकराज कार्कीले पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सरकारले बन्दाबन्दीको समयका निकालेको सूचनाले आमजनता सुसूचित हुन नसकेको भन्दै जग्गा भोगचलनमा रहेको तर पूर्जा नभएका मानिसले जग्गा छोड्दा निकै समस्या हुने भएकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले रेलमार्ग भनिएको स्थानको दुवैतर्फ २५–२५ मिटर जग्गा अधिग्रहण गर्ने भएकाले सरकारले चलनचल्तीको मूल्य कायम गरेर मुआब्जा दिन सरकारसँग माग गर्नुभयो । आज बसको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य कार्कीले यो कुरा उठाएका हुन् ।
सदस्य काजीमान कागतेले मलको अभाव भएकाले समयमा किसानले आफैँले ल्याएको मल प्रहरीले पक्राउ गर्ने र कारवाही गर्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङमा जग्गा छुट दर्ताको अवस्थामा धेरै मानिसले नाम गडबड भएकाले मालपोतमा जग्गा छुट फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य विमल कार्कीले जनतका सार्वभौम प्रतिनिधिले सदनमा आवाज उठाउँदा पनि समस्या समाधान नहुने भएकाले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सदस्य राधा थापाले किसानलाई सहज ढङ्गले मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुस्