शीर्ष खबर स्थानीय खबर स्वास्थ्य

मेची अस्पतालमा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा

बिर्तामोड, २६ असार । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रयोगशाला स्थापना गर्ने स्थानको व्यवस्थापन करिब करिब सकिएको र मेसिन आए परीक्षण शुरु गर्न सकिने अवस्थामा रहेको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा कोरोना परीक्षणका लागि प्रदेश नं. १ सरकारमार्फत् मेसिन आउनेछ ।

“सानो वा ठूलो कत्रो मेसिन आउँछ भन्ने यकिन भएको छैन, तर पनि दुवै मेसिन राख्न सकिने स्थानको व्यवस्थापन भइरहेको छ”, उहाँले भन्नुभयो । प्रयोगशालामा कोरोना परीक्षणका आवश्यक अन्य सामग्री खरीदका लागि अस्पतालले बोलपत्र समेत आह्वान गरेको छ । जसमा दुई वटा फर्मबाट आवेदन परेको मेसु ठाकुरले बताउनुभयो ।

“आवश्यक सामग्री खरीदका लागि प्रदेश सरकारबाट ३६ लाख रुपैयाँ माग गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले रकम निकासा भएको छैन, पैसा आएपछि अरु प्रक्रिया पनि अघि बढाउँछौँ ।” रकम र मेसिन आए तत्काल काम शुरु गर्न सकिने उहाँको भनाइ छ ।

सानो पोर्टेवल मेसिन आए दैनिक ३०/३५ वटा स्वाब परीक्षण गर्न सकिने छ भने ठूलो अटोमेटिक मेसिन आए दैनिक ४०० वा सो भन्दा बढी स्वाब परीक्षण गर्न सकिने छ । “२४सै घण्टा काम गरेर परीक्षणको संख्या बढाउन सकिन्छ”, डा. ठाकुरले भन्नुभयो ।

प्रयोगशाला सञ्चालनका लागि आठ जना जनशक्ति आवश्यक पर्छ । जसमा छ जना ल्याब विशेषज्ञ र दुई जना कार्यालय सहयोगी आवश्यक पर्ने मेसु ठाकुरले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box