भद्रपुर, ३१ असार । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँ सभाले चालु आर्थिक वर्ष ०७७-७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट पारित गरेको छ ।
गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँ सभा अन्त्य गर्दै परिषद सदस्यहरूको बुधवार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गरेको हो । बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पूजीँगत तर्फ २५ करोड ६६ लाख १८ हजार सहित ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू हुने वित्तिकै ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने ६० लाख बजेटबाट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।
वडा नम्बर २ का वडाध्यक्ष मेखबहादुर भट्टराइले वजेट पेश गर्न गाउँपालिका उपाध्यक्ष रोस्टममा जान लाग्दा सहमति विपरीत बजेट तयार गरेकोप्रति आपत्ति जनाउँदै विपक्षी दल भनेरे विभेद गरेको भन्दै गाउँ सभा बहिस्कारको घोषणा गरेका थिए ।
यसरी गाउँ सभा बहिस्कार गर्ने वडाध्यक्षहरूमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कुलबहादुर कार्की र ७ नम्बरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् । त्यसैगरी, नेपाली कांग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरूले वडाध्यक्षहरूसितै बहिस्कार गरेका थिए ।
वडा नम्वर ६ का अध्यक्ष कुलबहादुर कार्की कार्यपालिका बैठकमा एक करोड बजेट मागिएकोमा प्रत्येक वडालाई ६० लाख दिने सहमती तोडेर वजेट पारित गर्ने बेला १० लाखमा झारो टारेको आरोप लगाए ।
त्यस्तै, वडा नम्वर ४ का अध्यक्ष प्रमानन्दसिंह राजवंशी वडाध्यक्षलाई जन्मदर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस गर्ने मात्र बनाएर विकासविहिन भूमिकामा ल्याउन खोजेको आरोप लगाए । उनले वडाको सन्तुलित विकासका लागि टोल टोलबाट ६० लाखका योजना वडा सदस्य सहित वडाध्यक्षहरूले तय गरेको भए पनि अन्तिममा वजेट कटौती गरेपछि बहिस्कारको विकल्प नभएको सुनाए ।
यता, गाउँपालिका अध्यक्ष अञ्जार आलम भने अघिल्लो वर्ष दीर्घकालिन आयोजना अन्र्तगत भएको १० करोड खर्च वापतको रकम तिनुपर्ने बाध्यताले वडामा बजेट कटौती भएको बताउँछन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार, तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सेही अनुदानका आशमा निर्माण गरिएका आयोजनाका रकम यस वर्ष तिनु पर्ने बाध्यता आइ परेकाले वडामा बजेट घटाउनु पर्ने बाध्यता परेको प्रष्ट्याउँछन् ।
कमेन्ट गर्नुस्