शीर्ष खबर समाज स्थानीय खबर

कोरोना नियन्त्रणका लागि इजराइलमा रहेका कनकाईबासी युवाको सहयोग, नगरपालिकालाई दिए ७५० थान पीसीआर किट

झापा, ३१ असार । मानिसलाई कर्मले जहाँ पुर्याए पनि उसको मन आफ्नै देश, समाज र गाउँघरप्रति समर्पित हुन्छ भन्ने कुरा इजराइलमा रहेका झापा कनकाईका युवाले प्रमाणित गरिदिएका छन् । कोरोना भाइरसले आक्रान्त बनेको विश्व परिवेसमा आफूले विदेशी भूमिमा आर्जन गरेको रकमबाट केही छुट्याएर उनीहरु आफ्नो जन्मभूमि प्रति समर्पित गरेका छन् ।

इजराइललाई कर्मभूमि बनाएका कनकाईका युवाले कनकाई नगरपालिकालाई आज कोरोना परीक्षणका लागि ७५० थान पीसीआर किट प्रदान गरेका छन् । त्यहाँ रहेका २९ जना युवाबाट संकलित २ लाख ५१ हजार रुपैयाँमध्ये २ लाख ४७ हजार रुपैयाँको पीसीआर किट नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

कनकाईबासी एवम् कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लि.का प्रबन्ध निर्देशक दीपक चापागाईंको पहल र इजराइलमै रहेका कनकाई–३ का युवा विपीन मैनालीको नेतृत्वमा संकलित रकमबाट नगरमा कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि उक्त किट प्रदान गरिएको हो । आफू स्वदेश फर्कने क्रममा उक्त सामग्री खरीद गरेर ल्याएको र नगरपालिकालाई हस्तान्तरण गरेको मैनालीले बताउनुभयो ।

यो पुनित कार्यका लागि मैनालीसहित निर्मल दाहाल, कुमार प्रसाईं, मोहन कार्की, तेजु खतिवडा, सूर्य कार्की, भिमा सिटौला, ओम थपलिया, श्रृजना चुडाल, सन्तोष शिवाकोटी, मदन शिवाकोटी, दिनेश शिवाकोटी, मुना शिवाकोटी, कविता बिमली, नवीन शर्मा, विशन लिम्बू (माई धार), तुलसा चापागाईं, कुमार योङ्हाङ, दुर्गा प्रसाईं, चण्डिका सिटौला, कुमार शिवाकोटी, सी.पी बास्कोटा, तारा सिटौला, अस्मिता चुडाल, पुरुषोत्तम चुडाल, सुनिता प्रसाईं, लक्ष्मी खरेल, संगीता ओली, हेमराज उप्रेती र रोशन सिटौलाले आर्थिक सहयोग गरेका छन् ।

संकलित रकमबाट बचेको १८ हजार रुपैयाँ नगरपालिकाको समन्वयमा अपाङ्ग भएका मानिसहरुलाई सहयोग गरिने जनाइएको छ ।

पीसीआर किट ग्रहण गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सहयोगी युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । पीसीआर किटले नगरलाई कोरोनामुक्त बनाउन सहयोग मिल्ने बताउँदै उहाँले सबैको रचनात्मक सहयोग र सुझावले नगरलाई कोरोनामुक्त, समृद्ध एवम् अब्बल बनाउन सकिने बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box