समाज स्थानीय खबर

भद्रपुरमा सञ्चालित विद्यालय अनिश्चित बन्द

भद्रपुर, १६ साउन । संघीय सरकारको निर्णय विपरित भद्रपुर नगरपालिकाका क्षेत्रमा विद्यालय सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बन्द गराएको छ ।

सरकारले सबै क्षेत्र खुल्ला गरेपछि शिक्षा क्षेत्रका विषयमा निर्णय लिने बताइ रहेका बेला भद्रपुर नगर शिक्षा समितिको साउन ८ गतेको बैठकले विद्यालय सञ्चालन गर्न दिएपछि सञ्चालनमा आएका विद्यालयहरू शुक्रवारबाट बन्द गराइएको हो ।

भद्रपुर नगरपालिकाका क्षेत्र भित्रका अधिकाम्स संस्थागत तथा केही सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाइ शुरु गरेका थिए । साउन ८ गतेयता विद्यालय आउन थालेका विद्यार्थीहरूले साउन १६ गतेबाट सरकारको निर्णय नआएसम्म विद्यालय आउन नपाउने भएका छन् ।

भद्रपुर क्षेत्रमा विद्यालय खुल्ला रहेको हल्ला चलेपछि नेपाल विद्यार्थी संघ झापाले केही संस्थागत विद्यालयहरूको स्थलगत अनुगमन गरी तत्काल विद्यालय बन्द गराउन माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानासित माग राखेको थियो । नेविसंघ झापाको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला, र जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जयबहादुर महतलाई भेटेर विद्यालय सञ्चालन भइरहेकोबारे जानकारी गराएपछि भद्रपुर नगर शिक्षा समितिमाथि प्रश्न उठाइएको थियो । नेविसंघको टोलीसँग कुरा गर्दै प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिएका थिए ।

यता भद्रपुर नगर शिक्षा समितिले भने भद्रपुर नगर क्षेत्रमा विद्यालय सञ्चालन गर्न कुनै निर्णय नगरेको भन्दै आफ्नो बचाउ गरेपछि प्याब्सन भद्रपुरको टोली जिल्ला प्रशासन कार्यालय झापा पुगेको थियो ।

विद्यालय सञ्चालकहरूसित कार्यकक्षमै प्रजिअ रानाले अविलम्ब विद्यालय बन्द नगरे सञ्चालकहरूलाई कानुनी कारवाही गर्ने बताएपछि आइतवारदेखि विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भद्रपुर नगर शिक्षा समितिले साउन ८ गते राखेको सर्व पक्षीय बैठकमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताउँछन् । उनका अनुसार नगर शिक्षा समितिबाट तय भएको स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन पश्चात विद्यालय सञ्चालनमा ल्याइएको हो ।

यसैबीच भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख प्रेमबहादुर भुजेलले भने नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको प्रस्ट पारेका छन् । प्रमुख भुजेलका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर अभिभावकसित सहमती गरी विद्यालय सञ्चालन गर्न नगर शिक्षा कार्यालय लचिलो भएको भए पनि औपचारिक निर्णय गरेर विद्यालय सञ्चालन गर्न दिइएको छैन ।

शिक्षा शाखा प्रमुखले विद्यालय सञ्चालन गर्न अनुमती नदिइएको बताइरहँदा साउन ८ गते भद्रपुर नगरपालिकाको फेसबुक पेजना सो दिन भएको विद्यालय सञ्चालन सम्बन्धी मापदण्ड निम्नानुसार रहेको पाइएको छ ।

भद्रपुर नगर शिक्षा समितिको मिति २०७७÷०४÷०८ गते बसेको बैठकले विद्यालय संचालनमा ल्याउन विद्यालय संचालन कार्यविधि २०७७ अपनाउनु पर्ने निम्न अनुसारको निर्णय गरेको थियो ।

विद्यालय संचालन कार्यविधि २०७७

नेपाल सरकार तथा नगरपालिकाले जारी गरेको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उद्धार गर्न जारी गरिएका मापदण्ड ,स्वास्थ्य एवं सुरक्षाको नियमहरू पालना गरिगराई यो कार्यविधि२०७७ भद्रपुर नगरपालिका क्षेत्र भरी कार्यान्वयन हुनेछ । यस कार्यविधमा सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठनका मुख्य पाँच पक्षहरू विद्यालय, विद्यार्थी, अभिभावक, स्वास्थ्य शाखा र शिक्षा ,युवा तथा खेलकुद शाखाले पालना गर्ने अलग—अलग मापदण्ड तपशील बमोजिम तयार गरी संचालन गरिनेछ ।

१) विद्यालय पक्षले –

क) कक्षा कोठा र विद्यार्थी बस्ने सिट प्लानिङ्ग (दुरी कायम गर्न) र शिक्षकहरूको पठनपाठनको कार्य तालिका तयारी गर्नु पर्नेछ ।

ख) बाल क्लब र अभिभावकहरूसँग पठनपाठन संचालन वारे संवाद र कोभिड १९ संक्रमणबाट बच्ने उपाय वारे सचेतनता कार्यक्रम नगर स्वास्थ्य शाखाको समन्वयमा संचालन गर्नु पर्नेछ ।

ग) केस ईन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ्गको प्रयोजनको लागि विद्यार्थी र अभिभावकको मोबाईल वा ईमेल ठेगानासहित समेटिएको अभिलेख तयार गर्नुपर्नेछ ।

घ) गुणस्तरीय स्यानिटाईजर र डिस इन्फेक्सन गर्ने डिभाईस (मेसिन ) र सो कार्यकालागि प्रयोग गरिने स्यानिटाईजर , ५५ हाईपोकोलोराईड वा क्लोरिन वा ब्लिचिङ्ग वा भाईरेक्स वा स्वास्थ्य शाखाले तोकेको गुणस्तरीय औषधिको व्यवस्थापन गर्नु पर्नेछ ।

ङ) साबुनसहित हातधुने समुचित प्रविधियुक्त स्थानको व्यवस्था गर्नुपर्नेछ ।

च) स्वच्छ पिउने पानि, मनतातो पानि समय—समयमा पिउने व्यवस्था गरिनु पर्नेछ ।

छ) विद्यार्थीहरूको गतिविधि वा स्वास्थ्य प्रतिकुलता भए वा नभएको अवस्था वारे जानकारी गर्ने र सतर्कता वारे ध्यान दिन विद्यार्थीलाई पटक—पटक जानकारी गराउनु पर्नेछ ।

ज) सवारी साधनको व्यवस्थित र सुरक्षित रूपमा प्रयोग हुन पर्ने ।

झ) घर जाने समयमा स्कुल व्याग डिस ईन्फेक्सन गर्ने ।

२) विद्यार्थी पक्षले –

क) मास्क अनिवार्य लगाउने र सामाजिक दुरी (एक—अर्कामा संपर्कित नहुने) कायम गर्नु पर्नेछ ।

ख) समय—समयमा साबुन पानिले हात धुनु र आफ्नो साथमा रहेको वा विद्यालयमा राखिएको स्यानेटाईजरको उचित प्रयोग गर्नु पर्नेछ ।

ग) फोहोर उत्सर्जन नगर्ने र फोहोरको उचित वा तोकिएको स्थानमा व्यवस्थापन गर्नुपर्नेछ ।

घ) ध्रुमपान,मध्यपान वा प्रतिबन्धित पदार्थ प्रयोग गरिने छैन ।

ङ) चिसो जन्य वा शरीरिक प्रतिकुलता बढाउने खाना—खाजा खान पाइने छैन ।

छ) खाजा घरबाटै ल्याउने र आफुले मात्र खानु पर्नेछ ।

ज) जथाभावी हाच्छिँउ गर्न र थुक्न पाइने छैन ।

झ) घरबाट विद्यालय र विद्यालयबाट घरको सोझो यात्राबाहेकका बजारमा अन्य संम्पर्क गरिने छैन ।

ञ) घर फर्किएपछि लगाएका पोसाक सर्फपानीको बाल्टिमा खोल्ने र केहि समय पछि धुने र अनिवार्य स्नान गर्नु पर्नेछ ।

ट) ज्वरो, रुघाखोकी वा स्वास्थ्य प्रतिकुल भए विद्यालय नआउने र सो को सूचना स्वास्थ्य शाखालाई दिनु पर्नेछ ।

ठ) कोभिड १९ संक्रमणबाट बच्ने मापदण्डको पूर्ण पालना गर्नुको अतिरिक्त विद्यार्थीले पालन गर्नु पर्ने अनुसासन सम्बन्धि नियमको पालन गर्ने ।

३) अभिभावक पक्षले –

क) विद्यार्थीले निजी प्रयोग गर्ने मास्क, पञ्जा, स्यानेटाइजर उपलब्ध गराउनु पर्नेछ ।

ख) घरबाटै खाजा बनाइ पठाउनु पर्नेछ ।

ग) प्रयोग भएको पोसाक र ब्याग सरसफाई वा संक्रमणबाट सुरक्षित गरि दिनु पर्नेछ ।

घ) घरबाट विद्यालयसम्म जाने र फर्कि आउने अवस्थासम्म पूर्ण निगरानी राख्नु पर्नेछ ।

ङ) संक्रमण पुष्टि भए उपचारकालागि तथा केश ईन्भेस्टिगेसन र कन्ट्र्याक्ट ट्रेसिङ्गका लागि स्वास्थ्य शाखालाई सहयोग गर्ने ।

च) स्वास्थ्य प्रतिकुल भए विद्यार्थी घरमा राख्ने, हिडडुलमा प्रतिबन्ध लगाउने र थप ईन्भेस्टिगेसनका लागि स्वास्थ्यकर्मीको सम्पर्क गर्ने ।

४) नगर स्वास्थ्य शाखा पक्षले

क) पिसिआर परिक्षणका लागि स्वाव नमुना संकलन उचित व्यवस्था गर्ने । कोभिड १९ संक्रमण पुष्टि भए उपचारका लागि प्रदेश सरकारले व्यवस्थापन गरेको अस्पतालसम्म पुर्याइ उपचारको प्रबन्ध गर्ने ।

ख) कोभिड १९ संक्रमणबाट बच्न, बचाउन आवश्यक राय परामर्श दिने ।

ग) स्वास्थ्यमा प्रतिकुलता तत्काल देखिए वा संक्रमणको लक्षण मिल्दोजुल्दो भए कक्षा वा घरको सम्पर्कबाट हटाइ थप अनुसन्धान गर्न सहयोग गर्ने ।

घ) केश ईन्भेस्टिगेसन र कन्ट्राक्ट ट्रेसिङ्गका लागि थप मद्धत लिइ आवश्यक व्यवस्था गर्ने ।

ङ) अन्य स्वास्थ्य सम्बन्धि परामर्श वा निर्देशन गर्ने ,

५) शिक्ष, युवा तथा खेलकुद शाखा पक्षले –

क) विद्यालयमा स्वास्थ्य र सुरक्षा व्यवस्थापन के कसरी गरे वा नगरेको , कक्षा कोठा वा सिट प्लानिङ्ग, पठनपाठन कार्यतालिका अभिलेखित गर्ने र अनुगमन गरी आवश्यक परामर्श दिने ।

ख) विद्यालयले विद्यार्थी सम्बन्धि तयार पारेको अभिलेख प्रमाणीकीकरण गरी राख्ने ।

ग) समय—समयमा तोकिएको नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा गृह मन्त्रालयले कोभिड १९ संक्रमणबाट बाँच्न बचाउन जारी गरेको मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गरी लागु गर्ने गराउने ।

घ) पठनपाठन संचालन गर्न गराउन आवश्यक मापदण्ड पूरा भए नभएको अनुगमन गरी संचालन अनुमति दिनेछ ।

१) नेपाल सरकार शिक्षा तथा विज्ञान, प्रबिध मन्त्रालयले जारी गरेको प्रारम्भिक मापदण्ड , निर्देशन अनुसार पठनपाठन कार्य सुरक्षित गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्याब्सन—एन प्याब्सन र ईस्टु , शिक्षक सम्बन्धित संघ संगठन, वडा समिति तथा टोल विकास समिति समेतलाई जिम्मेवारी बाँडफाँड गरी सामुहिक जिम्मेवारी र दायित्व बोधका साथ कार्य गरिनेछ ।

२) संस्थागत विद्यालयबाट पिसिआर परिक्षण बापत न्यूनतम् लागत सहभागिता गरिनेछ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box