समाज स्थानीय खबर

झापाका ३५ सशस्त्र प्रहरीमा कोरोना, ५५ जनाको रिपोर्ट आज आउँदै

भद्रपुर, १७ साउन । झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो ।

शुक्रवार मात्रै जिल्लामा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत १० पुरुष, दुई महिला सशस्त्र प्रहरी र होम क्वारेन्टाइनमा बसेका अर्जुनधारा नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये पुरुषलाई मोरङको गोठ गाउँ र महिला सशस्त्रलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको छ ।

यसअघि पनि काँकडभिट्टास्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना भेटिएको थियो । सीमा नाका मेचीनगर नगरपालिकामा समुदायमा कोरोना फैलिने त्रासका कारण पाँच दिनअघि काँकडभिट्टाका सुरक्षाकर्मीसहित ११७ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये १२ जना सशस्त्रमा कोरोना रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । जिल्लामा सङ्क्रमितमध्ये ३११ जना निको भएर घर फर्किसकेका छन् ।

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले पनि भद्रपुर सीमा क्षेत्रमा खटिएका १० सशस्त्रसहित ५५ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको छ । उनीहरुको रिपोर्ट शनिबार आउने जनाइएको छ ।

Facebook Comments

फेसबुक

Holler Box