समाज स्थानीय खबर

मेची अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार शुरु

झापा, २० साउन । मेची अस्पताल भद्रपुरमा कोरोना भाइरसको नमूना परीक्षणसँगै संक्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईओटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमवारदेखि संक्रमितको उपचार र पीसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो ।

प्रयोगशालामा भइरहेको कोरोना भाइरसको परीक्षण नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधवारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।

अस्पतालको आइसोलेसनमा यसअघि कोरोना भाइरसका संक्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि संक्रमितको उपचारसमेत गर्न थालिएको हो ।

सोमवार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच संक्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।

प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड संक्रमितको उपचार हुनु र पीसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए । रासस

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक