समाज

उडानका लागि विमानस्थल तयार

काठमाडौं, ३१ साउन । कोभिड १९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ ।

यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् ।

सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ ।

यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताए ।

नियमित उडान सुरु भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महत्वपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

उडानमा कटौती
भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ ।

अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उनले स्पष्ट पारे । आन्तरिक विमानस्थलको टर्मिनलमा एक घण्टामा बढीमा तीन सय यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक