समाज

पैसा माग्न शिशुको प्रयोग, सेवाको नाममा धन्दा

काठमाडौं, २१ साउन । साउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो- ‘चउरमा कार्टुन, कार्टुनमा शिशु ।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो ।

यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो। दाता खोज्न गरिएको हल्लीखल्लीले शिशुकी आमाको मन पोल्यो। आफू स्वयम्ले जन्माएको सन्तानलाई अनाथ भनिरहँदा उनले सहन सकिनन्। अन्ततः ती महिला आफ्नो शिशु फिर्ता लिन केयर बालगृहकी सञ्चालक अधिकारी समक्ष पुगिन् र शिशुको अनुहार देखाएर पैसा कमाउने अधिकारीको योजना विफल भयो।

ती महिला लकडाउनको समयमा खाडी मुलुकबाट फर्किएकी थिइन्, पेटमा बच्चा बोकेर। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिना खाडी मुलुकमै बलात्कारमा परेकी थिइन्। नेपाल फर्किएपछि उनले उक्त शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म दिइन्।

विदेशबाट फर्किएपछि जन्मिएको शिशुलाई ती महिलाले घर लग्न सकिनन्। किनकि घरमा उनका श्रीमान् छन्, छोराछोरी छन्। समाजको डरकै कारण ती महिलाले आफ्नो शिशुलाई बालगृहकी सञ्चालक अधिकारीको जिम्मा लगाएको एसएसपी ज्ञवालीले जानकारी दिए।

‘आफ्नो पेटमा बच्चा भएको कुरा ती महिलाले परिवारसँग लुकाएकी रहिछन्, नेपाल आएपछि बच्च जन्मिएछ, घरमा लग्न सकिनछिन त्यसपछि बालगृहमा राख्ने निर्णयमा पुगेकी रहिछन्’, उनले भने, ‘पालनपोषण गर्न भनेर दिएको आफ्नो बच्चालाई चउरमा भेटिएको भन्ने खालका समाचार आएपछि उनी शिशु माग्न बालगृहमा पुगेकी रहिछन्।’

सेवाको कर्ममा लागेको व्यक्तिले शिशुलाई देखाएर पैसा कमाउने कुरा नैतिक रूपमा सही नभएको एसएसपी ज्ञवालीले बताए। उनका अनुसार बालगृह सञ्चालक अधिकारीले उक्त शिशुलाई गैरकानुनी रूपमा हासिल गरेको भए कानुनी कारबाही अगाडि बढ्छ।

सेवाको नाममा धन्दा
यो घटना एउटा उदाहरण मात्र हो। नेपालमा बालबालिकाको अनुहार देखाएर पैसा कमाउने अहिलेदेखि चलेको होइन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद् प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसाल नेपालमा सञ्चालित अधिकांश बालगृह पैसा कमाउने उद्देश्यले खोलिएको बताउँछन्।

‘सबै बालगृहलाई भन्दिनँ तर अधिकांश बालगृहले बालबालिकालाई देखाएर पैसा कमाउने तिर लागेका छन्, हामीले कारबाही गरेका सबै बालगृहले बालबालिकाको व्यापार नै गरेको देखिन्छ, बालगृहहरूमा कति पैसाको खेलो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय हो’, उनी भन्छन्, ‘आमा बुवा जीवितै भएका बालबालिकालाई बालगृहमा राख्ने र दाताबाट पैसा ल्याउने प्रवृत्ति यो क्षेत्रमा देखिन्छ।’

राष्ट्रिय बालअघिकार परिषद्ले बर्सेनि यस्ता बालगृहलाई बन्द गरेर त्यहाँ रहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ । परिषद्ले बालगृहको अध्ययन अनुगमन गर्दा पोषण, लवाइखवाइ र शिक्षागरी मुख्य तीनवटा कुरालाई ध्यान दिन्छ। तर, यी तीवटा मुख्य आधारसमेत पूरा गर्न नसक्ने बालगृह राजधानीमै रहेको परिषद्का प्रमुख भुसाल बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक