शीर्ष खबर समाज स्थानीय खबर

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन समिति बिर्तामोड नगरपालिका (झापा) को अपिल

मितिः २०७७।०४।२५

आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु,
विश्वमा महामारीको रुपमा बढ्दै गएको कोभिड १९(कोरोना)को संक्रमण रोकथामका लागि सरकारी तथा समुदायबाट विभिन्न प्रयासहरु भइरहेका छन् ।

बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यसको संक्रमण बढेर गएको अवस्थामा यसको नियन्त्रण र निराकरणका लागि नगरको स्वास्थ्य यूनिट अहोरात्र नगरबासीहरुको स्वास्थ सुरक्षाका लागि अहोरात्र लागिरहेको छ ।

वर्तमान अवस्थालाई मध्यनजर गर्र्दे नगरस्तरमा गठित कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको निर्णय अनुसार बिर्तामोडलाई सुरक्षित र जोखिममुक्त राख्नका लागि गत साउन १८ गते राति १२ बजेदेखि लागू गरिएको लकडाउन साउन २५ गते राति १२ बजेदेखि लागू हुने गरी खुल्ला गरिएको सर्वप्रथम जानकारी गराउँछौ ।

यस अबधिमा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदैं बिशेषगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, औषधि ब्यवसायी, बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आइ जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिंग गरिएको छ । आजसम्ममा २२ सय ४३ को पीसीआर परीक्षण गरिएको, जसमा १५ सय ४ जनाको रिपोर्ट आएकोमा १० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । ७ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस प्रकारका महामारी र संक्रमणको जोखिमबाट मुक्त रहन सरकारी एकल प्रयासबाट मात्र सम्भव छैन । जनतामा पनि जागरुकता र तत्परता हुन आवश्यक हुन्छ । कोरोनाको समुदायमा संक्रमण फैलन नदिन र यसको रोकथामका लागि समुदाय नै बढी सचेत हुनुपर्ने हुन्छ । कोेभिड १९ (कोरोना) समुदायस्तरमा फैलन सक्ने अवस्थालाई नियन्त्रण गर्नका लागि नगरपालिका र नगरका स्वास्थ्यकर्मीले गरेको आहुवानलाई जनस्तरबाट पालना भएमात्र यसको जोखिम कम गर्न सकिने तथ्यलाई सबैले आत्मसात गर्नु पर्दछ । नत्र यो महामारीबाट जोगिन सकिने सम्भावना कम हुन जान्छ ।

बिर्तामोड आफैँमा भिडभाडयुक्त क्षेत्र हो । एउटा मुख्य ब्यापारिक केन्द्र भएका कारण र सरकारी कार्यालय, गैर सरकारी संस्था, उद्योग, ब्यवसाय, कृषि उपज केन्द्र, संचार, बैक, बित्तीय संस्था, संस्थानका कार्यालयहरु धेरै संख्यामा रहेका कारणले पनि यहाँ धेरै आवतजावत हुनु स्वाभाविकै हो । तसर्थ, आफैँ सचेत बनेर आफ्ना दैनिक क्रियाकलाप संचालन गर्दै नगरलाई सुरक्षित राख्ने नगरपालिकाको अभियानमा सहयोग गर्न नगरबासीलाई आह्वान गर्दछौं । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र कुनैपनि भिडभाड हुने सामाजिक गतिबिधि, क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दछौं ।

नगरले क्वारेन्टाइनको रेखदेख ब्यवस्थापन, निगरानी कन्ट्याक्ट ट्ेसिंग, खोजपडताल तथा ब्यवस्थापनका कामहरु निरन्तर गरिरहेको छ भने यसलाई अझै ब्यवस्थितरुपमा निरन्तरता दिने योजना रहेको छ । पीसीआर परीक्षणको दायरालाई बढाउँदै आइसोलेसन वार्ड बनाउन पनि पहल भइरहेको छ ।

आवश्यकता अनुसार होम क्वारेन्टाइनको ब्यवस्थालाई प्राथमिकता दिदै पीसीआर गर्नुपर्ने दायराका ब्यक्तिहरुको पहिचान गर्ने कार्य जारी नै रहेको हुँदा कोरोनाको शंका लागेका ब्यक्तिहरुले तत्कालै नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न अपिल गर्दछौं ।

अन्त्यमा, सम्पूर्ण नगरबासीहरुमा सहनशील, धैर्य र संमयमता अपनाउन आग्रह गर्दछौंं । साथै, नगरलाई सुरक्षित राख्न र जनताको स्वास्थलाई ख्यालमा राखेर कार्य गर्न सबै राजनीतिक दल, संघ संस्था र समुदायहरुबाट सदाझैं सहयोगको अपेक्षा गर्दछौं । आफू पनि बचौं र अरुलाई पनि बचाऊ । धन्यबाद

ध्रुवकुमार शिवाकोटी
नगर प्रमुख

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक