विचार समाज साहित्य

म अझै बेरोजगार लेखक

तीर्थ सिग्देल
एकपटक बहुचर्चित पुस्तक कणार्ली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरको अन्तरर्वार्ता पढेको थिएँ । उनले भनेका थिए, मानिसको नजरमा म बेरोजगार छु । हुनपनि हो, लेख्ने काम कुन पेशा हो वा व्यवसाय हो ? किटान भएको छैन l

लेखकले अन्तरर्वार्ता दिँदा भन्ने गरेको सुनेको छु, म रहरले लेख्छु अथवा मनको शान्तिका लागि कलम चलाउने गरेको छु ।

के यस्तै हो त ? के लेखक अझेपनि बेरोजगार नै छन् त ?
मेरो चौथो कृति बजारमा आएपछि अलिकति यस विषयमा चर्चा गर्न मन लाग्यो । एक दिन (समय कथा) नामक यात्रा निबन्धले नेपाली बजारमा स्थान पाउँदै गर्दा मैले यस अघिका तीनबटा किताबबारे फर्केर हेर्ने कोशिष गरें । पहिलो किताब जीवनको गति, दोस्रो पूर्वको राजनीति र तेस्रो मनोनेट कथासंग्रहले के मलाई रोजगार बनायो त ? उसोभए मैले किन चौथो किताब लेख्न तिर ध्यानदृष्टि दिएँ त ?

मनभित्र उही प्रश्न दोहोरिन्छ, तेहेरिन्छ । कोभिड १९ को चपेटामा विश्वनै परेको बेला बेलाबेला लेखक कृष्ण अबिरल, जसले फेसबुकमा आफूलाई लेखेर बाँच्न मन पराउने मान्छे भनेर परिचय दिएको हेर्छु अनि उहाँले लेखेका दर्जनौं कृतिमा ध्यान जान्छ । उहाँले सिंहदरबार अगाडि खोलेको मंजरी प्रकाशनमा बेलाबेला पुस्तक मेला भनेर सस्तोमा किताब बेचेको पनि देख्छु ।

अनि अलिपर दांगतिर डेरा जमाएका जगलकार सुरेशसुमन डाँगीले पनि फेसबुकमा चेयरपर्सन अफ बेरोजगार लेखेको हेर्छु । अनिफेरि उहाँका गजल सुन्छु र सोच्छु… के म पनि अझै बेरोजगार नै छु कि ?

बन्दैछु फकिर म घर बेचेर
निस्किएँ यात्रामा डर बेचेर

उही गजलकार सुरेशसुमनको इम्यूजिक डायरी डटकममा छापिएको समाचार र उहाँले लेखेको गीतको म्यूजिक भिडियो हेर्छु । जीवन जिउने आधार खोज्दै गजलकार शिर्षकमा छापिएको समाचारले त्यही बुझाउँछ कि महान लेखकहरु अझै जीवन जिउने आधार खोज्दै छन् ।

धेरै अघिको कुरा सम्झन्छु, झर्रोवादी लेखक चुडामणि रेग्मी जुटको झोलाभरि किताब बाकेर बाँड्दै हिँडेको । त्यतिबेला म एउटा बिशुद्ध पत्रकार मात्र भएकोले उहाँले दिएका किताब त्यति पढिदैन्थ्यो । किनभने पत्रकार भएपछि पढ्नै पर्दैन नि । त्यत्तिकै सबैकुरा जानेकै जस्तो हुन्थ्यो । ती सबै किताब यसै थन्किन्थे ।

भर्खरै उही भाषाबिद चुँडामणि रेग्मी आफैँ मेरो कार्यालयमा आउनुभयो र मेरा किताब माग्नु भयो । मैले मेरा सबै किताब दिएर भने, सर…यो गुरुभेटी भो ।

उहाँ हाँस्नुभयो र भन्नुभयो, मेरा किताब पढ्नुहुन्थ्यो र ?
कसले पढ्छ र यस्ता किताब ? यो प्रश्न मेरा लागि गम्भिर मात्र थिएन, जटिल पनि थियो । अझ आफ्ना कृति आफैँ छापेर हिँड्ने अनि आफन्त, नातागोता र साथीभाईलाई बाँडेर सन्तुष्ट हुने जमाना अब छैन ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक