फिचर समाज स्थानीय खबर

झापामा जनस्तरबाट स्थापित पीसीआर ल्याबको स्थायित्वको जिम्मा प्रदेश सरकारले लिन्छः मन्त्री कार्की

बिर्तामोड, ३१ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले झापामा जनस्तरबाट स्थापना गरिएको पीसीआर ल्याबको स्थायित्वको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ ।

झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन कार्यक्रममा आज मन्त्री कार्कीले झापामा शुरु गरिएको यो अभियानले सकारात्मक सन्देश गएको बताउनुभयो ।

असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन चल्ने भएकाले कोरोना संक्रमण केही दिन वा महिना बढ्ने उहाँले बताउनुभयो । “त्यस्तो परिस्थितिका लागि हामी मानसिक र भौतिक रुपमा तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि यस्ता ल्याब सहायकसिद्ध हुनेछन् ।”

उहाँले जनस्तरबाट शुरु गरिएका कोरोना विरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिनुभयो । “कसैले ल्याब स्थापना गर्छ, कसैले क्वारेन्टिनलाई खाना खुवाउँछु, आइसोलेसन बनाउन सहयोग गर्छु भन्यो भने त्यसलाई कामलाई सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसमा सरकारले पनि भरपूर सहयोग गर्नुपर्छ ।”

मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले रचनात्मक काममा सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक