समाज स्थानीय खबर

कोरोनाले झापा कनकाईका ५१ वर्षीय पुरुषको मृत्यु, आज ३० जना थपिए

बिर्तामोड, ३० असोज । झापामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।

कोरोना भाइरसको लक्षण देखिएपछि गत परीक्षणका क्रममा गत २७ गते मृतकमा कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । “सास फेर्न गाह्रो भएपछि बीएण्डसीमा उपचारका लागि राखिएको थियो”, उहाँले भन्नुभयोे, “उपचारकै क्रममा हिजो राति निधन भएको हो ।” योसँगै झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यता, झापामा आज ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ वटा स्थानीय तहका ८ महिला २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले जानकारी दिनुभयो ।

भद्रपुरमा ७, बिर्तामोडमा ९, अर्जुनधारामा ३, कनकाई, कमल र शिवसताक्षीमा १–१, दमकमा ४, बुद्धशान्ति र गौरादहमा २–२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार २५० पुगेको छ भने निको हुनेको संख्या ९१६ जना रहेको छ । जिल्लामा ३२१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म २८ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक