समाज स्थानीय खबर

कनकाईको प्रजापति सावको कार्यालयमा कसले लगायो ताला ? बहुमत उपभोक्ता निर्णयमाथि प्रहार

बिर्तामोड, १ कात्तिक । झापाको कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अज्ञात समूहले ताला लगाएको छ ।

जसका कारण दशैंको मुखमा आमउपभोक्तालाई सेवा दिनबाट कार्यालय विमुख भएको छ । समूहका अध्यक्ष सूर्यकुमार थापाले के कति कारणले कसले किन तालाबन्दी गरेको भन्ने जानकारी नभएको बताउनुभयो । हठात् कार्यालयमा तालाबन्दी गरिएपछि सावका अध्यक्ष थापा र सचिव मेनुका काफ्लेले ‘प्रेस विज्ञप्ति तथा अपिल’ जारी गर्नुभएको छ ।

गत बिहीबार वनको ३० साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा कार्य सूचीमा नरहेको एजेण्डा प्रवेश गराइएको विज्ञप्तिमा उल्लेख छ । बहुमत आम उपभोक्ताले गरेको निर्णयमाथि प्रहार गरी माइन्यूट नियन्त्रणको प्रयास भएको अध्यक्ष थापाले बताउनुभयो । सोही कारणबाट तालाबन्दी भएको हुन सक्ने अनुमान गरिए पनि आधारिक रुपमा कसले र किन गरेको भन्ने खुल्न नसकेको सचिव श्रेष्ठ बताउनुहुन्छ ।

यस्तो छ विज्ञप्ति–

प्रेस विज्ञप्ति तथा अपिल सम्बन्धमा

‘मिति २०७७/०६/२९ गते यस श्री प्रजापति सामुदायिक वन उपभोक्ता समूह कनकाई नगरपालिका वडा नं. १ को ३४ औँ साधारणसभा सञ्चालन भई कार्य सूचीमा रहेको सबै प्रस्ताव तथा एजेण्डाहरु छलफल भई कार्य सूचीमा रहेका सबै एजेण्डा उपर निर्णय भई माइन्यूट समेत भइसकेको अवस्थामा केही उपभोक्ताहरुले कार्यसूचीमा नरहेको निर्वाचन सम्बन्धी एजेण्डा उठाइएको तर सो एजेण्डा कुनै पनि टोल समितिले सुझाव र निर्णयका रुपमा नपठाएको, कार्य समिति तथा परिषद् भेलाले ३४ औँ साधारणसभामा पेश हुने कार्य सूची निर्णय गर्दा सो विषयमा निर्णय नगरेको र कार्य समितिको पदावधि सकिन लामो समय बाँकी रहँदा निर्वाचन सम्बन्धी निर्णय गर्नु गराउनु विधान विपरीतको कार्य रहेको, विधान बमोजिम कार्य समिति विगठन भएपश्चात मात्र निर्वाचन समिति गठन गर्न मिल्ने डिभिजन वनको परिपत्र अनुसार निर्वाचनको व्यवस्था लिखित रुपमा गर्न नमिल्ने, बजेट छुट्याउन नमिल्ने रहेको तथा कार्य समितिको मौजुदा कार्यविधि समाप्त भई नसकेको अवस्थामा विधान बमोजिम पदावधि नसकिँदै कार्य समितिलाई काम चलाउ समितिको रुपमा रुपान्तरण गर्न नमिल्ने समेतको जानकारी गराइएको अवस्थामा उत्छृङ्खलता प्रस्तुत गर्दा माइन्यूट नियन्त्रणको प्रयास गरेको, उपभोक्ताहरुको बहुमतले पारित गरेको निर्णयहरुको सुरक्षा गर्नु कार्य समितिको दायित्व समेत भएकोले तत्कालीन परिस्थितिलाई मध्यनजर गरी कुनै अप्रिय घट्नाको सम्भावनादेखि माइन्यूट कार्यालयमा सुरक्षा गरी राखिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दै ३४ औँ साधारणसभा समापन भई कार्यालय बन्द गरेर गएको अवस्था २०७७÷०६÷३० गते कार्यालयमा ताला लगाइएको, कसले किन र कुन प्रयोजनको लागि लगाइएको भनेर आधिकारिक जानकारी नखुलाएको अवस्थामा ३४ औैं साधारणसभाको निर्णयहरु सम्बन्धित निकायमा पेश गर्न असमर्थ रहेको व्यहोरा जानकारी गराउँदै यस तालाबन्दीबाट दशैंको मुखमा आमउपभोक्ता महानुभावलाई सा.व.को कार्यालयबाट दिनुपर्ने सेवा सुविधान दिन नसकिएको यो अवस्थामा यहाँहरुकै प्रतिनिधि भएको नाताले दुःख व्यक्त गर्दै आमउपभोक्ता महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।

सचिव : मेनुका श्रेष्ठ अध्यक्ष : सूर्यकुमार थापा

प्रजापति सामुदायिक वन उपभोक्ता समिति
कनकाई–१ (झापा)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक