समाज स्थानीय खबर

झापामा ब्राउन सुगरको अवैध कारोबार : सात महिनामै १७२ जना पक्राउ

झापा, २५ फागुन । पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको अवैध कारोबार फस्टाएको छ। सीमा क्षेत्रका बजारमा लागुऔषध ट्याब्लेट, सिरप, गाँजाको अत्यधिक कारोबार हुँदै आएकोमा लकडाउनपछि ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार ह्वातै फस्टाएको हो।

जिल्लामा ब्राउन सुगरको कारोबार फस्टाएसँगै झापा प्रहरी यसको जालो तोड्ने मिसनमा जुटेका छन्। प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा सक्रियता देखाएसँगै झापा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले दिनहुँ ब्राउन सुगर प्रयोगकर्ता र गिरोहमा आबद्ध व्यक्तिलाई पक्राउ गर्न थालेका छन्।

यसैक्रममा प्रहरीले भद्रपुरबाट ब्राउन सुगरसहित एक प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ बस्ने २६ वर्षीय विशाल मण्डल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। मण्डललाई फागुन १९ गते बुधवार भद्रपुर ६ स्थित देउराली होटेलको कोठाबाटै १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट डब्लुबि ७४ए क्यु ३८६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाक र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा योजनाबद्ध तरिकामा उनलाई पक्राउ गरेको थियो। प्रहरीले ब्राउन सुगर खरिदबिक्री गर्ने नाइकेलाई पनि पक्राउ गर्ने योजना बनाएको थियो। तर, प्रहरी त्यस योजनामा असफल बन्यो। त्यसको ठाउँमा प्रयोगकर्ता डिल गर्न पुगेपछि उनलाई प्रहरीले पक्राउ गर्यो। पक्राउ परेका प्रयोगकर्ता मण्डलले ब्राउन सुगरको मुख्य नाइके भद्रपुर ६ निवासी अन्दाजी २८ वर्षीय रविन घोष भएको प्रहरीलाई बयान दिइसकेको प्रहरी स्रोतको दाबी छ।

मण्डललाई पक्राउ परेका बेला मुख्य नाइके घोष त्यही होटेल वरिपरि रहेका थिए । प्रहरीले प्रयोगकर्ता मण्डललाई पक्राउ गरेको आफ्नै आँखाले देखेपछि नाइके घोष त्यहाँबाट भारत फरार भए। मण्डलले प्रहरीलाई घोषको नाम बताएपछि प्रहरी टोली तत्काल झापा चोकस्थित उनको घर पुगेको थियो। तर, नाइके घोष घरमा थिएन, उनी घर नगई भद्रपुर नाकाबाट सोजै भारत भाग्न सफल भए।

प्रयोगकर्ता मण्डलले प्रहरी समक्ष बयान दिँदै भनेका छन्, ‘म प्रयोगकर्ता हो, मलाई एक डोज दिने सर्तमा घोषले ब्राउन सुगर बोकेर एक महिलालाई दिनु र पैसा लिएर आउनु भनी होटेल पठाएको हो।’ यसभन्दा अघि पनि घोषले एक डोज दिने बाहानमा यसरी काम अडाउँदै आइरहेको उनले प्रहरीलाई बताएका छन्। मण्डलले घोषको काम गरेबापत उनलाई पैसा दिँदैन थियो।

‘सबै लगानी उसैको, फाइदा पनि उसैले लिन्थ्यो, मलाई त एक डोज दिन्थ्यो, त्यसैले पुगिहाल्थ्यो, उनले प्रहरीलाई भनेका छन्। यता प्रहरीले मण्डललाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको छ, भने नाइके घोषलाई खोजिरहेका छन्। नाइके घोषले भद्रपुरका अधिकांश युवाहरूलाई विभिन्न प्रलोभन दिएर आफ्नो जालमा फसाएर विभिन्न अवैध काम गराउँदै आइरहेका थिए।

ब्राउन सुगरको कारोबार गर्नुअघि नाइके घोष भारतीय रुपैयाँको अवैध कारोबारमा सक्रिए थिए। २०७३ साल चैत २५ गते तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले स्रोत नखुलेको ११ लाख १० हजार भारतीय रुपैयाँसहित घोषलाई पक्राउ गरेको थियो। घोषसहित उनीसँगै हिँडेका मनोज राजवंशीलाई पनि पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाउनु पर्नेमा नेताको पावरमा त्यसको भोलिपल्ट विना कारबाही सशस्त्रले छोडेको थियो।

त्यस्तै प्रहरीले भद्रपुर–८ सगरमाथा चोकबाट ब्राउन सुगरको कारोबार गर्ने थप एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर–८ विमानस्थल नजिकै बस्ने २४ वर्षीय दिनेश राजवंशीलाई ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो। राजवंशीले पनि भद्रपुरमा ब्राउन सुगरको कारोबार गर्दै आइरहेका थिए।

यता प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार लागुऔषधमा पक्राउ परेका आरोपीको बयानको आधारमा गिरोहका अन्य व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको बताए। पक्राउ परेका आरोपीलाई लागुऔषध ओसारपसारको बारेमा बयान लिन्छौ, डिएसपी थापाले भने, ‘आरोपीले लागुऔषध कारोबार गर्ने व्यक्तिको नाम बयानमा दिए, त्यसको विषयमा पनि छुट्टै अनुसन्धान गर्छौ, कानुनी कारबाही दायरमा ल्याएर छाड्छौं।’ आरोपीलाई थुन्ने र अरूलाई कारबाहीको दायरमा नलाएर छाड्ने त्यस्तो नहुने उनको भनाई छ।

ब्राउन सुगरमा तेब्बर फाइदा
ब्राउन सुगरको खरिदबिक्री गर्दा सुन भन्दा बढी फाइदा हुने गरेको पाइएको छ। पाउडर जस्तो धुलो पदार्थको ब्राउन सुगर बोक्दा पनि कसैले थाहा नपाउने, बिक्री गर्दा किनेको भन्दा तेब्बर फाइदा हुने भएपछि पछिल्लो समयमा यसको अवैध कारोबार फस्टाएको छ। नेपालमा प्रतिबन्धित ब्राउन सुगर भारतबाट भित्रिन्छ।

​कारोबारीले भारतका सीमावर्ती विभिन्न सहरबाट खरिद गर्ने र लुकाई छिपाई नेपाली बजारमा ल्याउने गरेको छ। भारतमा प्रति ग्राम ब्राउन सुगरको मूल्य एक हजारदेखि डेढ हजारसम्म पर्छ। नेपालमा त्यसको खरिद मूल्य साढे दुई हजार बढी रुपैयाँसम्म पर्छ। नेपालका सीमावर्ती बजारमा ब्राउन सुगर बिक्री गर्दा प्रति ग्राम ५ हजारदेखि ६ हजार रुपैयाँसम्म पर्छ।

राजधानी लगायत नेपालका अन्य सहरसम्म पुग्दा त्यसको मूल्य १० हजार प्रति ग्रामसम्म पर्छ। भारतमा एक किलो ब्राउन सुगरको मूल्य १० देखि १५ लाख पर्छ। त्यसलाई नेपाल ल्याएर बिक्री गर्न सकिए ५० लाखदेखि ६० लाख हुन्छ। १६ लाखदेखि २४ लाख लगानी गर्ने कारोबारले एकै पटकमा त्यसको दोब्बर(तेब्बर कमाउने गरेको छ। त्यही भएर पछिल्लो समयमा यसको कारोबार जिल्लामा फस्टाएको प्रहरीको भनाई छ।

यस्तो प्रहरीको तथ्याङ्कमा लागुऔषध
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क हेर्दा गत आर्थिक बर्ष २०७६।७७ भन्दा चालु आर्थिक वर्ष २०७७।७८ को माघ मसान्त सम्म लागुऔषध कारोबार गर्ने घटना बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा ११ महिला र १८० जना पुरुष लागु औषधसहित पक्राउ परेका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६ महिला र १६६ जना पुरुष पक्राउ परिसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षको ७ महिनामै १७२ जना पक्राउ परिसकेको छ । अघिल्लो एक वर्षमा १९१ जना पक्राउ परेका थिए । फागुन महिनाको तथ्याङ्क जोड्ने हो भने १८० जना नाघिसकेको प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो आर्थिक वर्षमा १ किलो ५९५ ग्राम ५०५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो भने, चालु आर्थिक वर्षको माघ सम्ममा १ किलो ५२६ ग्राम ३६३ मिलिग्राम ब्राउन सुगर बरामद गरिसकेको डिएसपी थापाले बताए । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य ९० लाख बढी पर्छ ।

उनका अनुसार लागुऔषध डाईजापाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, गाँजा, सिरप पनि बरामद भइरहेको छ । तर, अन्य लागुऔषधको तुलनामा ब्राउन सुगर बढी बरामद भएको डिएसपी थापाले बताए । अन्य लागुऔषध प्रयोग गर्दागर्दै बढी मात्रामा नशालु पदार्थ चाहिने भएकाले पनि ब्राउनसुगरतर्फ युवावर्ग बढी लागेको अनुसन्धानले देखाएको उनले बताए । ‘लागुऔषध नियन्त्रण तथा रोकथाममा प्रहरीले सक्रियता बढाएकोले लागु औषधमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्ने थालेको हो, त्यसैले आरोपीको सङ्ख्या बढ्दै गएको हो,’ उनले भने, ‘ब्राउन सुगर बोक्न पनि सजिलो, भारतबाट ल्याउन पनि समस्या नहुने र फाइदा पनि बढी भएकोले यसको कारोबार बढेको अनुमान गर्न सक्छौँ ।’

यस्तो छ कानुनी सजायको व्यवस्था
लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दण्ड सजाय ९१० दफा ४ को खण्ड ९ज० मा अफिम, कोका र सोबाट बनेको लागु औषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई यस्तो कानुनी सजायको व्यवस्था गरिएको छ । २५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ बर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना र एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाखसम्म जरिवाना तोक्ने व्यवस्था छ । यी कानुनी व्यवस्था ब्राउन सुगर कारोबार गर्नेमा पनि लागु हुने उल्लेख गरिएको छ । लागुऔषध गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार गर्ने व्यक्तिलाई न्यूनतम तीन महिनादेखि अधिकतम १० वर्षसम्म र पाँच हजारदेखि एक लाख रुपैयाँ सम्म जरिवाना तोकिएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक