झापा, २३ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार गरेका भेटघाट तीन वटा निर्देशन दिएका छन् । बिहीबार बिहान उनले समाजिक सञ्जालमा लेख्दै बुधबार आफूले गरेका काम बुँदागत रूपमा जानकारी गराएका हुन् ।
म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य–मुख्य निर्देशनहरू
१. नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो। ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ताभित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटिका छन्। भवन र ल्याबअनुसारको उच्चकोटिको काम हुनुपर्ने कुरामा जोड दिएँ।

२. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो। शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने।
३. पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो। सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु। आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहीअनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको छु।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

