
लीलाराज झापाली
कनकाई, २९ मंसिर । झापाको कनकाई नगरपालिका–७ नगरपालिका छेउबाट एक प्रेमिले आफ्नी प्रेमिकालाई घरबाट बोकेरै भगाएका छन् ।
उनीले खुसीले आफ्नी प्रेमिकालाई घरबाट भगाएका भने होइनन्, उनकी प्रेमिका अर्थात् ३० वर्षीय डोल्मा पासाङ्ग तामाङ हिँड्डुल गर्न सक्दिनन् । उनको दुबै खुट्टा चल्दैन । उनी मुस्किले बस्न सक्छिन् भने राम्ररी बोलचाल गर्न पनि सक्दिनन् त्यसकारण उनका प्रेमि दिलिप थापाले आफ्नी प्रेमिकालाई बोकेरै घरबाट भगाउनु परेको हो ।
कनकाई–७ की डोल्मा र त्यही डेरा गरी बस्ने ३२ वर्षीय दिलिप थापा बीच गत फागुनदेखि सामान्य बोलचाल मात्र थियो । त्यो पनि इमोबाट भएको थियो । उनीहरु दैनिक गफीन थाले र यो गफ प्रेममा परिणत भयो । तर, शारीरिक रुपमा अशक्त थिइन्, प्रेमिका डोल्मा । जसलाई प्रेमि दिलिपले माया गरेर आफैँ नाम पनि राखिदिएका थिए सोनिका भनेर ।
उनीहरुले मायालाई सार्थकता दिनका लागि एकअर्का सँगै मर्ने, बाच्ने कसम खाए । तर, डोल्मा हिँड्न सक्दिन थिइन् । उनीहरुको सबै योजना फोनबाटै बन्यो र प्रेमि दिलिप घर नजिक्कै अटो राखेर डोल्मालाई लिन आए । तर, डोल्मा घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन । उनले प्रेमिका लैजानका लागि दिनभर घरनजिक्कै अटो लिएर कुरे र मौका आउन साथ गत शुक्रबार राति ७ बजे सबै सुतिसकेको बेलामा घर पछाडिबाट घरभित्र पसेर आफ्नी प्रेमिकालाई बोकेरै निक्कैपरसम्म लगे र अटोसम्म ल्याए ।
उनीहरुले यसबीचमा परिवारले छुटाउलान भनेर सिदुर पोतेसमेत गरे । तर, घरमा आफ्नी हिँड्डुल समेत गर्न नसक्ने छोरी घरैबाट राति नै हराएपछि उनका बुबा हर्कबहादुर तामाङ, भाउजु मनमाया तामाङ निक्कै आत्तिए र खोजीमा लागे तर उनीहरु सोमबारका दिन आफूहरु प्रेम विवाह गरेको बताउँदा सबै छक्क परेको भाउजु मनमाया तामाङ बताउनुहुन्छ । पछि दिलिपले नै आफूहरु लामो समयदेखि प्रेम सबन्धनमा रहेको र बिहे समेत गरेको बताएपछि डोल्माका घरपरिवार समेत सहमतिमा आउनुभएको छ ।
दिलिपको घर धनगढी नगरपालिका–४ कैलाली रहेकाले उनको परिवार समेतको सहमतिमा चाँडै धार्मिक परम्परागत रुपमा बिहेको तयारीमा दुबै परिवार अहिले लागेको छ ।
आफ्ना ४ छोरा र १ छोरीमध्ये एकमात्रै छोरी डोल्माको सानै उमेरमा पोलियोका कारण खुट्टा समेत नचल्ने र बोली समेत राम्रो नआउने भएको बताउँदै डोल्माका पिता छोरीको बिहेले आफू खुसी भएको र ज्वाइँ छोरीलाई यही बस्ने र घर बनाउने भए जमिन समेत उपलब्ध गराउने बताउनुभएको छ ।
यता, सामान्यतय घर गृहस्तीका लागि घरायसी काम गर्नुपर्ने हुन्छ । त्यो पनि नसक्ने अवस्थामा समेत आफ्नी प्रेमिकाको शारीरिक अवस्था बुझिकन बिहे गर्न राजी हुने महान् प्रेमि भएको भन्दै किताबमा पढेको मुना–मदन, लैजा–मजनुको भन्दा यो प्रेमिल जोडिको कथा प्रत्यक्ष देख्न पाएको स्थानीयबासी समेत रहनुभएका समाजसेवी शेरबहादुर थापाले बताउनुभयो ।
“समाजमा सबै नराम्रा र खराब मात्रै समाचार देखिरहेका, सुनिरहेका हामीमा यो एउटा खुुसीको समाचार प्राप्त भएको छ”, थापाले भन्नुभयो, “यस्ता जोडीको सहज जीवनयापनका लागि हामी समाजका जिम्मेवार नागरिककको पनि भूमिका रहनुपर्छ ।”

