add
विशेष स्थानीय खबर स्वास्थ्य

दुई लाख विद्यार्थीको आँखा जाँच्न झापा र सुनसरीमा पाइलट प्रोजेक्ट

सन्तोष शर्मा
बनियानी, २३ पुस । मेची आँखा अस्पताल बिर्तामोडले झापाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शुरु गरेको छ ।

आँखा उपचारको क्षेत्रमा कार्यरत अमेरिकी संस्था अर्बिस (इच्द्यक्ष्क्) सँगको साझेदारी र नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा अस्पतालले विद्यार्थीको आँखा परीक्षण शुरु गरेको हो ।

सन् २०१८ अगष्टदेखि शुरु भएको त्रि–वर्षीय परियोजना अन्तरगत अस्पतालले डिसेम्बर अन्त्यसम्म २८ हजार १८३ जना विद्यार्थीको आँखा परीक्षण गरेको छ । ६ देखि १८ वर्ष उमेर समूहका २ लाख २० हजार विद्यार्थीको आँखा जाँच गर्ने लक्ष्यका साथ परियोजना शुरु भएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताउनुभयो ।

‘झापा र सुनसरीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यो कार्यक्रम लागू भएको छ’, उहाँले भन्नुभयो, ‘कार्यक्रम सफल भए देशव्यापी रुपमै यो लागू हुन सक्छ ।’ परियोजना अन्तरगत दृष्टि दोष भएका ६ हजार ६ सय विद्यार्थीलाई आवश्यक पर्ने चश्मा निःशुल्क वितरण गरिने छ ।

परियोजना अन्तरगत समय सापेक्ष मेडिकल सफ्टवेयरमा आधारित रहेर आँखा जाँच गर्ने, विद्यार्थीलाई इच्छा अनुसार चश्माको फ्रेम छान्न दिने, निःशुल्क चश्मा वितरण गर्ने, चश्मा लगाए÷नलगाएको अनुगमन गर्ने र अभिभावक तथा प्रधानाध्यापकसँग निरन्तर परामर्श गर्ने कार्यक्रम रहेको छ ।

एक शैक्षिक सत्रमा जाँच गर्न जाँदा अनुपस्थित भएका र नयाँ भर्ना भएका विद्यार्थीको आँखा जाँचका लागि पुनः विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली पठाइने डा. जोशीले जानकारी दिनुभयो । आँखा जाँच गर्नुपूर्व अस्पतालले स्थानीय तहसँग सम्झौता गर्दै आएको छ ।

अहिलेसम्म झापाको गौरादह, दमक, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिका तथा कचनकवल र गौरीगञ्ज गाउँपालिकासँग सम्झौता भइसकेको छ । बाँकी स्थानीय तहसँग यसै वर्ष सम्झौता गरिने अस्पतालले जनाएको छ ।

आँखा जाँच गरिएका विद्यार्थीमध्ये ७९३ जनालाई चश्मा सिफारिस गरिएको छ भने ४६१ जनालाई चश्मा वितरण गरिएको छ । ६८१ जनालाई अस्पतालमा रेफर गरिएकोमा २३० जना विद्यार्थीले अस्पतालमा गएर आँखा परीक्षण गराएका छन् ।

२०५३ साल कात्तिक १ गते स्थापना भएको अस्पतालले हालसम्म २३ लाख ९ हजार ९८५ जना बिरामीको आँखा परीक्षण गरेको छ । अहिलेसम्म २ लाख ६२ हजार ११६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अस्पतालले दमक, बनियानी, गौरादह, भद्रपुर, राजगढ र पाँचथरको फिदिममा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

Facebook Comments