add
स्थानीय खबर स्वास्थ्य

बर्थिङ सेन्टर सञ्चालनसँगै गर्भवती महिलालाई राहत

add

भद्रपुर, २४ पुस । झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ ।

छ महीना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ को प्रसूति गराएको हो । झापाकै दुर्गम पालिकाका रूपमा रहेको झापा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य जनतालाई राहत प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताउनुभयो ।

मुस्लिम र आदिवासी बाहुल्य बसोवास रहेको पालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या पनि बढेको संयोजक विश्वकर्माको भनाइ छ । पालिकाका अध्यक्ष जयनारायण साहले बर्थिङ सेन्टर सञ्चालनका लागि भवन नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि गाउँपालिकाले जग्गा दिने दाताको खोजी गरिरहेको बताउनुभयो । “जग्गाको खोजीमा छौँ” अध्यक्ष साहले भन्नुभयो, “भवन बनाउन कारितास नेपालले सहयोग गर्ने भएको छ ।”

उहाँले यसअघि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नहुँदा यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको बताउँदै भन्नुभयो, “यसले प्रसूतिका क्रममा अकालमै मृत्यु हुनबाट महिलालाई जोगाएको छ ।” अध्यक्ष साहले सेन्टरमा सुत्केरी हुने महिलालाई सरकारले प्रदान गर्दै आएको सुत्केरी यातायात खर्चमा रु एक हजार थपेर दिने गरेको बताउनुभयो ।

चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको सेन्टरमा दुई अनमी र एक अहेब छन् । बर्थिङ सेन्टरमा कर्मचारी अपुग हुँदा काम गर्न समस्या भइरहेको अहेब कमल प्रसाईंले बताउनुभयो । “प्रसूति गराउनु पूर्व गर्भवतीको रगत जाँच गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “ल्याब नहुँदा समस्या भइरहेको छ । गर्भवतीको अवस्था हेरेर आम्दा र मेची अञ्चल अस्पतालमा सिफारिश गर्ने गरेका छौँ ।” बर्थिङ सेन्टरको स्थापनासँगै मुस्लिम महिलासमेत गर्भ जाँच र प्रसूतिका लागि आउने गरेको उहाँको भनाइ छ ।

Facebook Comments