add
विशेष स्थानीय खबर

कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो (फोटो फिचरसहित)

सन्तोष शर्मा
बनियानी, १ माघ । झापाको कनकाई नदीमा मकर स्नानका लागि ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ ।

आज माघे संक्रान्तिको अवसरमा झापालगायत नेपाल–भारतका विभिन्न स्थानका श्रद्धालु भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । मकर स्नानका लागि यहाँ बर्सेनि लाखौँ भक्तजन आउने गरेका छन् ।

सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिएको पण्डित सोमनाथ सुवेदीले बताउनुभयो ।

माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले रात छोटा र दिन लामो हुने उहाँले बताउनुभयो । मकर संक्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल, सुठुनी लगायतका कन्दमूल खाने परम्परा रहेको छ ।

‘मकर संक्रान्तिका दिन नदीमा स्नान गर्नाले शरीरमा रहेको रोगव्याधी हट्ने धार्मिक विश्वास छ’, पण्डित सुवेदीले भन्नुभयो, ‘यो दिन सूर्योदय हुनु पूर्वको नदीमा स्नान अझ उत्तम मानिन्छ ।’

हरेक वर्षझैं यस वर्ष पनि कनकाई नदीको दुवै किनार र दोमुखामा रमाइलो मेला लागेको छ । ‘माईमेला’को नामले प्रख्यात यस मेलामा झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङलगायत भारतको पश्चिम बंगाल, बिहार राज्यका विभिन्न स्थानबाट लाखौँ भक्तजन आउने गरेका छन् ।

Facebook Comments