सन्तोष शर्मा
बिर्तामोड, ३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनसनरत् डा. गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ ।
प्रेस चौतरी झापा र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले त्यस्तो बताउनुभएको हो । ‘डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ’, उहाँले भन्नुभयो, ‘सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।’ डा. केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने समेत उहाँले बताउनुभयो ।
चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनसन तोड्न उहाँले आग्रहसमेत गर्नुभयो । ‘चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग हो’, २०६९ सालमा पहिलो पटक डा. केसी अनसन बस्नुभएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘२०७० साल पुस २७ गतेयता पटक–पटकको अनसनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।’
डा. केसीकै माग अनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उहाँले बताउनुभयो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिइरहेकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयकले पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो ।
‘अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ’, उहाँले भन्नुभयो, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।’ मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय सैय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाहरुले डा. केसीलाई उचालेको नेता भट्टराईको आरोप छ । ‘विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘त्यस्ता गिरोहले डा. केसीलाई उचालेका छन् ।’
२०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहोर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गर्नुभयो । ‘कांग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेसले डा. केसीलाई बोकेर मात्र हुँदैन ।’
कांग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, नेकपा पार्टी एकताको प्रसंगमा बोल्दै नेता भट्टरार्ईले एकताको प्रक्रियाका माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताउनुभयो । ‘एकता अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिने छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।