add
विचार विशेष

महिलालाई अधिकार दिनु दया गर्नु होइन

विभा झा
स्त्री र पुरुषबिना संसार चल्दैन । घर गृहस्थी सुखपूर्वक धान्न सकिँदैन । संघर्षशील जीवनमा मिठास रहँदैन– यही नै संसारको सत्य हो । स्त्री र पुरुष एकअर्काका परिपुरक र समान महत्वका पृथक मानवहरु हुन् । तर, समयक्रमसँगै पितृसत्तात्मक समाजको वर्चस्व बढ्दै जाँदा स्त्रीलाई केवल उपभोग्यवस्तु वा दासको रुपमा घोषित वा अघोषित रुपमा सीमित गरियो । यो परिस्थिति परिवार अनुसार कम वा बेसी अझै विद्यमान छ ।

विभा झा

महिलालाई अझ पनि दोयम दर्जाको रुपमा सोचिन्छ, रोजिन्छ, अनुभव गरिन्छ र महसुस गराइन्छ । यद्यपि, संविधानमा महिलालाई उसको वर्ण, वर्ग, जात, लिङ्ग, क्षेत्र, आदिको आधारमा पुरुषभन्दा कम अधिकार नभएको व्यवस्था छ । अर्थात् महिला र पुरुष कानुनी रुपमा समान छन् ।
तर, समाजमा व्याप्त पितृसत्तात्मक परिवेशले उब्जाएको विभिन्न सोच, अन्धविश्वास, रीतिरिवाज, अशिक्षा, गरिबी, पर्निभरता आदि जस्ता तत्वले महिलामाथि अन्याय गर्ने र गराउने गर्दछ । समाजले आज पनि महिलालाई निरीह प्राणीको रुपमा हेर्न मन पराउँछ । कतिपय परिवारमा अझ पनि महिलाहरुलाई जीवनको प्रमुख निर्णयहरुमा सामान्य सोधपुछ पनि गरिँदैन र पुरुषहरुको निर्णय थोपरिन्छ । ती पुरुष बुबा, पति, छोरा वा कुनै अर्कै सम्बन्धका पनि हुन सक्छन् । महिलासँग सम्बन्धित व्यक्तिगत कुरा जस्तै प्रजनन्, शिक्षा, रोजगारीमा समेत पुरुषले निर्णय गर्दछन् । यसको मुख्य कारण महिलाको शैक्षिक, आर्थिक र सामाजिक हैसियत कमजोर हुनु हो । जुन युगौँदेखि हुँदै आएको महिलामाथिको विभेदको उपज हो ।
महिलालाई शारीरिक र मानसिक पीडा दिनु तथा उसको आत्मसम्मानमा चोट पु¥याउनु महिला हिंसा हो । महिलाको हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, कुटपिट, बेचबिखन, अंगभंग, जलाउने, कुरुप बनाउने, अपशब्द बोल्ने, व्यङ्ग्य गर्ने तथा अन्य कुनै प्रकारले दुव्र्यवहार गरिने जस्ता घटना हाम्रो समाजमा छर्लङ्ग देख्न र थाहा पाउन सकिन्छ ।
आफ्नो स्वार्थ पूरा नहुँदा महिलालाई तथानाम गालिगलौज गरिन्छ । यदि महिला बुहारी छिन् भने उनको माइती पक्षको सम्पूर्ण खान्दानप्रति घिनलाग्दो शब्द प्रयोग गरिन्छ । खासगरी मधेसी समुदायमा दाइजो कम ल्याउने वा नल्याउने कारणले पनि कतिपय महिलामाथि ज्यादति भएको छ÷ हुन्छ । हुन त सबै किसिमका ज्यादती वा हिंसा महिला स्वयम्ले पनि अरुलाई भन्न आँट गर्दिन ।
कतिपय ठूला–ठूला घरानिया परिवारले पनि आफ्ना बुहारीलाई कृत्रिम आर्थिक दरिद्रतामा राख्छन्, घरभित्र नोकर र घर बाहिर घरको सदस्यजस्तो व्यवहार गर्छन् । हाम्रो टोलमा एक वकिल छ । उसको श्रीमती कुनै पनि बाहिरी व्यक्तिसँग कुरा गर्न पाउँदिनन् । उसको ज्यादतिको बारेमा उनी कहिले मुख खोल्दिनन् । तर, मधेसी समाजका केही अगुवाले यसलाई गर्वका साथ अन्य बुहारी समक्ष उदाहरण दिन्छन् ।
हाम्रो समाजमा स्त्री भएकै कारणले उसमा जानी नजानी अपराधवोध तथा हिनभावानाको विकास ऊ जन्मिनु पूर्व नै अभ्यासमा ल्याइन्छ र उसको मृत्यु पश्चात अन्त्य हुन्छ । ऊ जन्मिनु अघिदेखि नै छोराको कामना गरिनु र जन्मिसकेपछि पनि खासै खुसी नहुने परम्परा छ ।
‘छोरी भए फर्सी र छोरा भए खसी’, ‘छोरा पाल्नु सहरमा छोरी पाल्नु कहरमा’, ‘मर्द कि दश ओटी स्वास्नी’, ‘छोरीको जन्म हारेको कर्म’ यतिकै भनिएको होइन । यस्ता उखान टुक्काले समाजको नारीप्रतिको सोचलाई पनि प्रतिबिम्बित गर्दछ । साथै, यसले नारी र पुरुषबीच सामाजिक विभेद पनि देखाउँछ । हुन त महिलाको सामाजिक, आर्थिक र शैक्षिक हैसियतमा सुधार न आएको होइन तर सन्तोषजनक चाहिँ पक्कै छैन ।
नारीको विद्वताभन्दा उसको शारीरिक सुन्दरता वा कुरुपताको आधारमा व्यवहार गरिन्छ । समाजमा यिनलाई मानवभन्दा पनि उसको शरीरलाई महत्व दिइन्छ । आज पनि ज्ञानी र हक्की स्त्रीलाई पुरुष मानसिकताले सम्मान दिन हिच्किचाउँदछ । अविवाहित आमा तथा एकल महिलालाई उचित स्थान दिएको पाइँदैन । हाम्रो देशमा अधिकांश महिलाहरुको जीवन श्रम शोषण, घृणा, पिटाई र चरम आर्थिक अभावमा गुज्रिरहेका हुन्छन् ।
नेपाली समजलाई अध्ययन गर्दा घरेलु हिंसाका निम्न कारणहरु देखिन्छन्–
१. श्रीमानको आज्ञा नमान्नु,
२. अह्राएको समयमा घरको कामकाज नगर्नु,
३. जवाफ फर्काउनु,
४. श्रीमान्लाई सेक्स गर्न मनाही गर्नु,
५. श्रीमान्ले गर्ने खर्चको बारेमा सोध्नु वा फिजुलखर्ची रोक्न खोज्नु,
६. श्रीमानको इच्छाविपरित माइत जानु वा माइतीसँग सम्बन्ध राख्नु,
७. पर्याप्त दाइजो नल्याउनु,
८. छोरा जन्माउन नसक्नु,
९. प्रथा र परम्परा मान्न नखोज्नु,
१०. श्रीमानले श्रीमतीलाई शंका गर्नु,
११. श्रीमान कुलतमा फसेको हुनु आदि ।
अतः स्त्रीले पाउने अधिकार स्त्रीलाई दिएपछि यी र यस्ता खाले महिला हिंसा स्वतः नियन्त्रण हुन्छ । जीवित रहने अधिकार, सुरक्षाको अधिअकार र संरक्षणको अधिकार सबै मानव जातिको नैसर्गिक अधिकार हो । जुन महिलाले पनि स्वतःस्फुर्त रुपमा प्रयोग गर्न पाउनु पर्छ ।
समाजमा मानव अधिकार कार्यान्वयन भएपछि मात्र महिलाको सामाजिक हैसियत पुरुष सरह कायम हुन्छ र समाजमा महिलाको जीवन डररहित हुन्छ । यसको साथै महिलाको शैक्षिक र आर्थिक क्षेत्रमा उन्नति हुनुको साथै निर्णय गर्ने क्षमताको विकास हुन्छ । महिलालाई एक स्वतन्त्र मानवको रुपमा समाजले ग्रहण गरेमा मात्र समाजको पूर्ण विकास सम्भव हुन्छ । पुरुष सोच र सत्ताले आत्मनिरीक्षण गर्यो भने महिलाप्रतिको विभेद र हिंसा स्वतः नियन्त्रण भई घर–घरमा सुख र शान्ति छाउँछ । अनि त समाज र देशको विकास सोचेजस्तो हुन्छ ।
घरेलु हिंसा एक यस्तो अपराध हो– जसको पूर्ण आँकडा तयार गर्न सकिँदैन । किनकि, सबै घटना प्रकाशमा आउँदैन । पीडितले लोकलाजका कारण कतिपय घटना सार्वजनिक नगरी बस्छन् । कतिपय अवस्थामा प्रहरीको उदासिनता, पीडक पक्षको डर, चरम गरिबी, कानुनी प्रक्रियाबारे अनभिज्ञता जस्ता तत्वले गर्दा पीडित आपÞm्नो पीडा जीवनभरि सहेर बस्दछ ।
यति मात्र होइन, शिक्षित र ठूलाबडा घरको शिक्षित र कमाउ महिला पनि आफूमाथिको हिंसा बाहिर ल्याउन चाहँदैनन् । किनकि उनीहरुलाई थाहा छ महिला मुद्दालाई पुरुषप्रधान सोचको आधारमा नापतोल गरिन्छ । जस्तै, बलात्कारजस्तो संवेदनशील घटनामा कतिपय पुरुष हाकिमहरुले पीडित र पीडकलाई मिलापत्र गराउन तिर लाग्छन् । जसमा पीडितलाई डर, धम्की वा प्रलोभन दिइएको पनि नभेटिएको होइन ।
हुन त महिला हिंसा न्यूनीकरणको क्षेत्रमा राज्यले विभिन्न सेवा र सुविधा प्रदान गरेको छ । तर पनि नेपालको संविधानले दिएको महिला अधिकारलाई राष्ट्रले गम्भीर भएर कडाईका साथ लागू गर्यो भने देशभरि निर्ममरुपमा महिलामाथिको ज्यादती छिट्टै नियन्त्रण हुन्छ । साथै महिलालाई अधिकार दिनु ऊ माथि दया गर्नु होइन, यो महिलाको मानव अधिकार हो भनेर समाजका हरेक व्यक्तिले बुझ्नु पर्छ ।

बिर्तामोड, झापा

Facebook Comments