भद्रपुर, १२ माघ । विवेक कार्की स्मृति साँगीतिक प्रतिष्ठान नेपालले विद्यालय स्तरीय साँगीतिक प्रतियोगिता माघ १७ गते सम्पन्न गर्ने भएको छ ।
अल्पायुमा स्वर्गारोहण भएका भद्रपुर १० चन्द्रगढीका युवा गायक विवेक कार्कीको दाश्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले माध्यमिक तह स्तरका भद्रपुर नगर क्षेत्रका विद्यार्थी कलाकार बीच साँगीतिक प्रतियोगिता सम्पन्न गर्ने भएको हो ।
प्रतिष्ठानले खोज पत्रकारिता मञ्च चन्द्रगढीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सुगम संगीत गायन प्रतियोगिता गर्ने जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालका अनुसार कला र संगीतको संरक्षण गर्न भद्रपुर नगर स्तरीय विद्यालय स्तरका गायक गायिका बीच प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षबाट स्वर्गीय गायक कार्कीको गायनकला स्मरण तथा नगरमा गीत संगीत संरक्षमा युवा पुस्ता आकर्षण गठन भएको प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार सहित प्रमाण पत्र, दोश्रो ३ हजार सहित प्रमाण पत्र, तेस्रो २ हजार सहित प्रमाण पत्र र सान्त्वना एक हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।
माघ १७ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न हुने प्रतियोगितामा भद्रपुर नगर क्षेत्रका ३० वटा माध्यमिक विद्यालयका गायक गायिकाले प्रतिष्पर्धा गर्ने छन् । एक विद्यालय एक प्रतिष्पर्धी रहने प्रतियोगितामा सहभागी हुने कलाकारले यातायात खर्च ५ सयका दर प्राप्त गर्ने समेत आयोजकले जानकारी दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।