add
खेलकुद स्थानीय खबर

मेची रंगशालामा आजदेखि गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता

भद्रपुर, २६ माघ । झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि ‘प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की’ प्रतियोगिता शुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा नेपाल हक्की संघले मेची अञ्चलमै पहिलो पटक हुन उक्त प्रतियोगिता गर्न लागेको हो । यसअघि विराटनगरमा विसं. २०४५ सालमा पहिलो पटक राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना गरिएको थियो ।
ओझेलमा परेको हक्की खेललाई प्रोत्साहन गर्नुका साथै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल हक्की संघका सचिव रञ्जन थापाले बताउनुभयो ।
माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहेक गण्डकी, सुदुरपश्चिमसहित ६ वटा प्रदेश र नेपाल आर्मीको एउटा विभागीय टिमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक समेत रहनुभएका थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशरराज विष्टले गर्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न रू २० लाख खर्च हुने आयोजकको अनुमान छ ।

Facebook Comments