add
समाज

छुट्टाछुट्टै दुर्घटना २ को मृत्यु, २ जना घाइते

File photo

विराटनगर, २८ माघ। १ नम्बर प्रदेश अन्तर्गत सुनसरी र उदयपुर जिल्लामा आइतवार भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

साँझ पौने ८ बजे सुनसरीको रानधुनी नगरपालिका–४ बैठार चोकमा मोटरसाईकलको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । साँझ ६ बजेको समयमा झुम्काबाट प्रकाशपुर तर्फ जाँदै गरेको बा. ५५ प. ६४३ नम्बरको मोटरसाईकलले को २ प. ४९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक रामधुनी– ४ बस्ने ३५ बर्षका कृष्ण परियार गम्भीर घाइते भई उपचारको लागि स्थानीय रामधुनी मेडिकल हुँदै थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाईकलमा सवार चालक सोही स्थान बस्ने २० बर्षका भुबन चौधरी र २० बर्षका संजय चौधरी समेत घाइते भई प्रहरीको निगरानीमा झुम्का स्थित मोडेन मेडिकल हुँदै थप उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाईएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा बसको ढोकामा उभिएका सह–चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको छ ।

साँझ साढे ७ बजे नेपालटारबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसका सह–चालक उदयपुरगढी गाउँपालिका–३ बस्ने २१ बर्षका रोशन कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्की बसको ढोकामा बसिरहेको अवस्थामा बिपरित दिशाबाट जाँदै गरेको मोटरसाईकललाई साईट दिने क्रममा बिजुलीको पोलमा च्यापिएका थिए । च्यापिएर गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments