add
विशेष शीर्ष खबर स्थानीय खबर

झापामा ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रमः एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

सन्तोष शर्मा
झापा, २४ फागुन ।
१२ जनाको परिवार । घरमा काम गर्ने एक जान मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइ–लेखाईका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्ष अघिको हो । तर, अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रू ५ हजार बीऊ पुँजी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । र, अहिले उहाँको जीवनस्तर क्रमशः फेरिँदै गएको छ ।

उहाँजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत् बाख्राको पाठी र बीऊ पुँजी त उहाँले पाउनुभयो र आय आर्जनका लागि तालिम र बचत गर्ने बानीको विकास पनि गरायो ।

झापामा पहिलो पटक २०५७ सालमा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग जोडिनुभएकी उहाँ भन्नुहुन्छ, ‘हामीले जीवन जिउने आधार पाएका छौँ, बचत गर्ने बानीको पनि विकास भएको छ ।’ घरमा दृष्टिविहीन छोरा–बुहारीसँगै आफू र श्रीमान् चार जनाको परिवार छ ।

उहाँहरुजस्तै झापामा करिब ३ हजार गरीब घरपरिवार यो कार्यक्रममार्फत् लाभाविन्त भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ मा यो कार्यक्रमका लागि रू २४ लाख बजेट आएको उहाँले बताउनुभयो । जिल्ला तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ ।

झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ ।

कार्यक्रम अन्तरगत १२ स्थानमा १२ जना सामाजिक परिचालक समेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मिना उप्रेतीले २६७ महिला र ३ पुरुष गरी जलथलमा २७० जना गरीब परिवार लाभान्वित भएको बताउनुभयो ।

‘गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ’, उहाँले भन्नुभयो, ‘कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न सहयोग मिलेको छ ।’ कार्यक्रम राम्रो भए पनि न्यून बजेटका कारण केही असहजता सिर्जना हुने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम अन्तरगत लक्षित वर्गका घरपरिवारलाई बाख्रा–सुँगुरको पाठापाठी, आय आर्जन तालिम, बचत गर्ने बानीको विकास, ५ प्रतिशत व्याजमा बीऊ पुँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताउनुभयो । बीऊ पुँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगतको बीऊ पुँजीवापतको करिब रू २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि रू ७ लाख रोकिएको छ ।

यता, हल्दिबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताउनुभयो । ‘गाउँपरिषद्बाट छलफल गरेर केही बजेट छुट्याउने सोच बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘जनमुखी कार्यक्रममा स्थानीय तहले सहकार्य गर्न जरुरी छ ।’

यसैबीच, हल्दिबारी–३, ४ र ५ लक्षित वर्गका ४२ जनालाई तीन दिने आय आर्जन तालिम प्रदान गरिएको छ ।
आय आर्जन, बचत कसरी गर्ने, आम्दानीको स्रोत पहिचान लागयतका विषयमा प्रशिक्षक केशव दाहाल, जयप्रसाद पोखरेल, नारायण गौतम र मिना उप्रेतीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिमको बिहीबार समापन गरिएको छ । हल्दिबारी–५ का वडाध्यक्ष होम चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि वडा जयप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लक्षित वर्गका संगठित समूहका अध्यक्ष वकिल सोरेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिमा भुजेल प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Facebook Comments